समाचार राजनीति

राष्ट्रपतिबाट तीन मन्त्रीलाई शपथ, कार्की मन्त्रिपरिषद् विस्तार!

राष्ट्रपतिबाट तीन मन्त्रीलाई शपथ, कार्की मन्त्रिपरिषद् विस्तार!

नवनियुक्त तीन मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमार्फत अर्थ मन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, र गृह तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार साँझ उनीहरूलाई नियुक्त गरेका थिए। बाँकी मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने व्यवस्था गरिएको छ।

शपथ ग्रहणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाल पूर्वअर्थ सचिव हुन्, जसले आर्थिक सुधार र सुशासनका क्षेत्रमा लामो अनुभव बटुलेका छन्। घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकका रूपमा व्यापक रूपमा चर्चित छन्, जसले विद्युत् व्यवस्थापन र नागरिक आवाजलाई प्राथमिकतामा राखेका थिए। अधिवक्ता अर्याल भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी मुद्दा उठाउँदै सार्वजनिक चासोमा आएका थिए।

तीनै मन्त्रीहरूले सोमबारै सिंहदरबारमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति पौडेलले यही भदौ २७ गते ‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। नयाँ मन्त्रीहरूको शपथले अन्तरिम मन्त्रिपरिषद् पूर्णतर्फ उन्मुख भएको संकेत गरेको छ, यद्यपि सरकारलाई चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी वहन गर्नुपर्नेछ।