समाचार राजनीति

शीतलनिवासमा मन्त्रीहरूको शपथ, सभामुख–उपसभामुख अनुपस्थित!

शीतलनिवासमा मन्त्रीहरूको शपथ, सभामुख–उपसभामुख अनुपस्थित!

अन्तरिम मन्त्रिपरिषद्को ताजा विस्तारअन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमार्फत तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा रामेश्वर खनालले अर्थ मन्त्रालय, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, र ओमप्रकाश अर्यालले गृहमन्त्रालयको जिम्मेवारीसहित शपथ लिनुभयो।

समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल सहभागी हुनु विशेष ध्यानाकर्षणको विषय बन्यो। प्रतिनिधि सभा भदौ २७ गते विघटन भइसके पनि संविधानअनुसार दाहालको पद यथावत रहेकाले उहाँले मन्त्रीहरूको शपथ समारोहमा उपस्थिति जनाउनुभयो। तर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना भने कार्यक्रममा देखिएनन्। प्रतिनिधि सभा विघटनसँगै तिनका पदमा प्रत्यक्ष भूमिका नदेखिए पनि, संवैधानिक व्यवस्था अनुसार उनीहरूको पदसमेत औपचारिक रूपमा कायम छ।

नयाँ मन्त्रीहरूको प्रवेशसँगै अन्तरिम सरकारको संरचना स्पष्ट भएको छ। राजनीतिक संक्रमणकालीन वातावरणमा प्रशासनिक निरन्तरतासँगै नीति तथा कार्यान्वयन क्षमता कसरी अघि बढाइने भन्ने प्रश्न अझै गम्भीर बनेको छ। आगामी दिनमा यी मन्त्रीहरूको प्राथमिकता र शैलीले सरकारप्रतिको विश्वास पुनर्निर्माणमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सबैको नजर केन्द्रित हुने देखिन्छ।