शपथपछि कुलमान घिसिङ शिक्षण अस्पतालमा, आन्दोलनका पीडित परिवारसग भेट !

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले सोमबार शपथ ग्रहण गरेलगत्तै औपचारिक रूपमा मन्त्रालय प्रवेश नगरी सीधै त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगे। उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई अस्पतालमा भेटेर समवेदना प्रकट गरे।
अस्पताल परिसरमा शोकाकुल परिवारसँग छोटो संवाद गर्दै मन्त्री घिसिङले आन्दोलनमा ज्यान गुमाउनेहरूको पीडा गम्भीर भएको उल्लेख गर्दै आफू व्यक्तिगत रूपमा पनि साथमा रहेको सन्देश दिएका थिए। उनका अनुसार, राज्यको दायित्व भनेको जीवन रक्षा गर्नु भए पनि आन्दोलनले यस्तो दुखद् स्थिति निम्त्याउनु अस्वीकार्य छ।
मन्त्रालयको पदभार ग्रहण गर्नुअघि नै पीडित परिवारलाई भेट्ने उनको निर्णय प्रतीकात्मक रूपमा पनि चर्चित बन्यो। विगतमा प्राविधिक क्षेत्रमा सफल नेतृत्वका कारण सार्वजनिक छविमा स्थापित घिसिङको यो कदमलाई कतिपयले ‘संवेदनशील शुरुवात’ को रूपमा व्याख्या गरेका छन्।
जेनजी आन्दोलनले नेपालको राजनीति र समाजमा गहिरो धक्का पुर्याएको छ। आन्दोलनका क्रममा सयौं घाइते भएका थिए भने केहीले ज्यानै गुमाए। नयाँ सरकार विस्तारसँगै मन्त्रीहरूले जिम्मेवारी कसरी निर्वाह गर्ने भन्ने प्रश्नमा सार्वजनिक ध्यान केन्द्रीत भइरहेका बेला घिसिङको पहिलो उपस्थितिले मानवीय पीडालाई प्राथमिकतामा राख्ने सन्देश दिएको देखिन्छ।