नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले शपथपछि पदभार सम्हाल्नुभयो!

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिँदै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ खुवाउनुभएको हो। शपथग्रहण लगत्तै खनालले आफ्नो कार्यकक्षमा पुगेर पदबहाली गर्नुभयो।
पूर्व अर्थसचिवसमेत रहनुभएका खनाललाई नेपालको आर्थिक नीतिनिर्माण र कार्यान्वयनमा लामो अनुभव भएको मानिन्छ। उहाँको नियुक्तिलाई केही विश्लेषकहरूले वित्तीय अनुशासन, कर प्रणाली सुधार र सार्वजनिक खर्च व्यवस्थापनमा निरन्तरता दिन सक्ने संकेतको रूपमा लिएका छन्।
देश हालैको राजनीतिक अस्थिरता र आन्दोलनपछि असामान्य आर्थिक दबाबमा रहेको सन्दर्भमा खनालको कार्यकाल चुनौतीपूर्ण हुने देखिन्छ। तत्कालिन प्राथमिकतामा सरकारी राजस्व सुदृढीकरण, खर्च व्यवस्थापन, र निजी क्षेत्रको विश्वास पुनःस्थापना रहने अपेक्षा गरिएको छ।
नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा खनालले विगतका अनुभवलाई व्यवहारिक नीतिमा रूपान्तरण गर्न सके आर्थिक स्थिरताको बाटो खुल्ने प्रक्षेपण गरिएको छ।