ऊर्जा र पूर्वाधार मन्त्री कुलमान घिसिङले पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिने घोषणा!

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुलमान घिसिङले सोमबार जनतासामु पहिलो धारणा सार्वजनिक गर्दै हालको संकटलाई पुनर्निर्माण र सहकार्यको अवसरमा बदल्ने प्रतिबद्धता व्यक्त गरे। शपथपछि भावुक हुँदै उनले हालैको आन्दोलनमा प्राण गुमाएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
घिसिङले जनताको आवाज सडकमा सुनिए पनि विद्यालय, अस्पताल वा सार्वजनिक सम्पत्ति जलाएर न्यायको खोजी सम्भव नहुने स्पष्ट पारे। “हिंसा होइन, समाधान हाम्रो बाटो हो; विध्वंस होइन, निर्माण हाम्रो अभियान हो,” उनको भनाइ थियो। उनले आन्दोलनले सार्वजनिक र निजी दुवै संरचना ध्वस्त बनाएको, सेवा प्रवाह अवरुद्ध भएको र निजी क्षेत्रको मनोबल कमजोर बनेको स्वीकार गर्दै चुनावसम्मको छोटो समयलाई दायित्व र अवसर दुवैका रूपमा लिनुपर्ने बताए।
उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सामेल भएका छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्ने अनुभव स्मरण गर्दै उनले ‘उज्यालो नेपाल अभियान’लाई पुनः अघि बढाउने घोषणा गरे। यस अभियानलाई उनले केवल बत्तीको उज्यालोसम्म सीमित नभई सुशासन, पारदर्शिता, सामाजिक न्याय र आर्थिक समृद्धिसम्म जोडिने जीवन–मार्गका रूपमा व्याख्या गरे।
मन्त्रीका प्राथमिकतामा पाँच मुख्य बुँदा छन्—आन्दोलनले क्षति पुर्याएका संरचनाको तत्काल पुनर्निर्माण, ‘हाम्रै हातले संरचना बनाऔँ’ भन्ने अभियानमार्फत देश–विदेशका नेपालीलाई सहभागी गराउने, मन्त्रालयभित्रको ढिलासुस्ती वा अनियमिततामा शून्य सहनशीलता अपनाउने, कर्मचारी व्यवस्थापनमा योग्यतालाई आधार बनाउने, र ठूला आयोजना तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्ने।
उनले विगतमा जनताबाट पाएको विश्वास र सहयोगले मुलुकलाई अँध्यारोबाट मुक्त गरेको उदाहरण दिँदै अहिले पनि त्यस्तै साथ आवश्यक भएको उल्लेख गरे। “यो समय खादा–माला होइन, काम गरेर सपना साकार पार्ने हो,” घिसिङले भने। उनका अनुसार, जेनजी पुस्ताले देखेको भ्रष्टाचारमुक्त, समुन्नत नेपालको सपना अब साझा प्रतिबद्धता र हातेमालोमार्फत मात्र सम्भव छ।