कांग्रेस सुदूरपश्चिम संसदीय दलको आग्रह!

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनका क्रममा देखिएका घटना र त्यसपछि बनेको अस्थिर परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्न सबैलाई एकताबद्ध भई पुनर्निर्माणमा जुट्न आग्रह गरेको छ। दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको बैठकले आन्दोलनले उठाएका मुद्दालाई बेवास्ता नगरी समाधान खोज्न सरकारलाई सचेत गराएको हो।
बैठकले भ्रष्टाचारमुक्त समाज निर्माण, दोषीलाई कारबाही र न्याय सुनिश्चित गर्ने जेनजी युवाको मागलाई “उचित र समयसापेक्ष” भन्दै तत्काल पहल गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ। साथै, आन्दोलनको क्रममा लोकतान्त्रिक मूल्य कमजोर पार्ने प्रयत्न भएको भन्दै कांग्रेस नेतृत्वमाथि भएको हिंसात्मक आक्रमणको कडा निन्दा गरिएको छ। पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई “लोकतन्त्र विरोधी शक्तिको घुसपैठ” ठहर गर्दै संसदीय दलले दुवै नेताको स्वास्थ्य लाभको कामना र आक्रमणमा संलग्न दोषीमाथि कानुनी कारबाही माग गरेको छ।
बैठकले भदौ २३ र २४ गते देशभर भएका हत्या, आगजनी, लुटपाट र सम्पत्तिको क्षतिको घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रदेश र संघीय सरकारसँग जोडदार माग गरेको छ।
दलले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिक, युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेको छ। कांग्रेस संसदीय दलले हिंसा र विभाजन होइन, पुनर्निर्माण र सहकार्यतर्फ अघि बढ्नु अहिलेको मूल आवश्यकता भएको स्पष्ट सन्देश दिएको छ।