गगन थापा: निष्पक्ष निर्वाचन र संविधान रक्षा आजको मुख्य राष्ट्रिय जिम्मेवारी!

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान राजनीतिक चरणमा सबैभन्दा ठूलो जिम्मेवारी निष्पक्ष निर्वाचन सम्पन्न गर्ने र संविधानको रक्षा गर्ने रहेको बताएका छन्। सोमबार पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आन्दोलनपछि देश थप चुनौतीपूर्ण मोडमा पुगेको भन्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे।
थापाले सामाजिक सञ्जालमार्फत् सात बुँदे आह्वान सार्वजनिक गर्दै आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारलाई निर्वाचन गराउने उद्देश्यमा सहयोग गर्नुपर्ने बताए। उनले भने, “अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्न हामी सबै लाग्नुपर्छ।”
उनका अनुसार सरकार निर्वाचन गराउने मूल उद्देश्यबाट विचलित भए वा अन्योलमा परे खवरदारी गर्नु पनि पार्टीको दायित्व हो। भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउनु आजको राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ।
थापाको सन्देश कांग्रेसभित्र मात्र नभई व्यापक राजनीतिक वृत्तमा पनि सन्देशको रुपमा लिइएको छ। आन्दोलनपछि अस्थिर बनेको राजनीतिक परिस्थितिमा उनले गरेका आह्वानलाई आगामी दिनमा सत्ता–प्रतिपक्ष दुबैका कदमसँग जोडेर हेर्ने अपेक्षा बढेको छ।