कुलमानको नयाँ नियमः १८ घण्टा अफिस, बाँकी ६ घण्टामा ट्वाइलेटदेखि परिवार भेटसम्म!

नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार सम्हाल्नेबित्तिकै अचम्मको उद्घोष गरेका छन्। लोडसेडिङ अन्त्य गरेर ख्याति कमाएका घिसिङले अब ‘१८ घण्टा काम’ अभियान सुरू गर्ने बताएका हुन्।
उनको भनाइअनुसार, मन्त्री आफैंले दिनमा १८ घण्टा काम गर्नेछन् र अन्य सम्पूर्ण कर्मचारीहरूले पनि त्यही तालिकाअनुसार काम गर्नुपर्नेछ। यसरी सरकारी कर्मचारीलाई कामको ‘म्याराथन’मा उतार्दै घिसिङले बाँकी ६ घण्टामा खान, मुख धुने, ट्वाइलेट जाने, नुहाउने, परिवारसँग कुरा गर्ने, साथीभाइ भेट्ने र सुत्ने सबै काम मिलाउनुपर्ने निर्देशन दिएका छन्।
सामान्यतया सरकारी कार्यालयमा १० देखि ५ बजेसम्म ‘चिया–बिस्कुट’ र ‘सिरक–तकिया’मै समय बिताउने प्रचलन रहेको देशमा, मन्त्री घिसिङको १८ घण्टे आदेशले कतिपय कर्मचारीलाई पसिना छुटाएको छ। केहीले यसलाई “सुधारको प्रयास” भनेका छन् भने कतिपयले “मानव शरीरलाई मेसिन ठानेको” भन्दै ठट्टा गरेका छन्।
“खाना खाँदा पनि फाइल पढ्न सकिन्छ, ट्वाइलेट जाँदा योजना बनाउन सकिन्छ, नुहाउँदा योजनाको प्रगति समीक्षा गर्न सकिन्छ,” मन्त्रीको शैलीलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा कर्मचारीहरूले टिप्पणी गरेका छन्।
अब हेर्न बाँकी छ—घिसिङको यो ‘१८ घण्टे सपना’ कर्मचारीहरूले सच्याउने हो कि झन् उनीहरूलाई निद्रा, टिफिन र टेबलमा पनि “लोडसेडिङ” नै हुने हो।