जितिया पर्वमा राष्ट्रपति पौडेलद्वारा सुख, शान्ति र समृद्धिका शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा नेपाली दिदीबहिनीप्रति शुभकामना व्यक्त गर्दै यो पर्वले समाजमा आपसी सद्भाव र सहिष्णुताको भावना बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिले जारी गर्नुभएको सन्देशमा जितियालाई सन्तान र परिवारको दीर्घायु, स्वास्थ्य, सफलता र सुखसमृद्धिका लागि महिलाहरूले भगवान जिमुतवाहनको पूजा आराधना गर्ने पर्वका रूपमा वर्णन गरिएको छ। विशेषतः तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा अन्य केही समुदायका महिलाले मनाउने यो पर्वमा आश्विन कृष्णपक्षको अष्टमी तिथिमा कठोर उपवास बस्ने, शरीर–मन–आत्मा शुद्ध गर्ने र परम्परागत परिकारहरू तयार गरी बाँडफाँड गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभएको छ।
सन्देशमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले यस्ता मौलिक पर्वहरूले समाजलाई मार्गदर्शन गर्दै राष्ट्रिय पहिचानलाई बलियो बनाउँदै आएको धारणा प्रकट गर्नुभएको छ। उहाँका अनुसार जितियाले महिलाप्रतिको श्रद्धा, पारिवारिक एकता, मौलिक संस्कृतिको निरन्तरता र आपसी सम्मानलाई मजबुत बनाउँदै आएको छ।
यो पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याएर समाजमा सहअस्तित्व र सहिष्णुता कायम गर्न सघाओस् भन्ने शुभेच्छा पनि राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ।