आन्दोलनले थिलथिलो अर्थतन्त्र, कार्कीको वाचा– निजी क्षेत्रलाई सरकारले उभ्याउँछ

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ठुलो क्षति बेहोरेको निजी क्षेत्रलाई सरकारसँगै पुनर्जागृत गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आइतबार कार्यभार सम्हालेपछि पहिलो सार्वजनिक सम्बोधनमा उहाँले निजी क्षेत्रको साहस र इच्छाशक्तिको प्रशंसा गर्दै सहयोगका सम्भावित उपायबारे संकेत गर्नुभयो ।
आन्दोलनका दिनमा विदेशी लगानीका चेन होटेलदेखि स्वदेशी ठुला उद्योग र साना पसलसम्म लुटपाट, आगजनी र तोडफोडको शिकार बनेका थिए । “मैले पत्रिकामा पढेँ—निजी क्षेत्रले ‘हामी हार्दैनौँ’ भनेको रहेछ,” भन्दै प्रधानमन्त्रीले व्यवसायीहरूको मनोबललाई उच्च मूल्याङ्कन गर्नुभयो । उहाँले कतिपय व्यापारी उठ्नै नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै सरकार उनीहरूको पुनःउठानका लागि सफ्ट लोन वा अन्य सहयोगका उपाय खोज्ने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “निजी क्षेत्रलाई जसरी उभिन्छौ उभिऔ भन्न मिल्दैन, कसरी उठाउने भन्नेमा हामी सोचिरहेका छौँ । साना व्यापारीदेखि ठुला लगानीकर्ता सबैलाई सहयोगको दायरा भित्र्याउँछौं ।”
विषम आर्थिक परिस्थिति सबैले साझा रूपमा भोगिरहेको भन्दै उहाँले निर्माण र पुनर्निर्माणमा राज्य र समाज दुवैको प्रयास केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, केही व्यवसायीले आफ्नै पीडा बीच पनि सार्वजनिक सम्पत्ति पुनस्र्थापनामा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका समाचार सुन्दा आफूलाई खुसी लागेको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।
सरकारको आश्वासनले आन्दोलनपछि थिलथिलो भएको निजी क्षेत्रमा केही आशाको किरण थपिएको देखिन्छ, तर अबको चुनौती ठोस कदम र दिगो समाधानमार्फत विश्वास पुनःस्थापित गर्नुमा रहनेछ ।