माओवादी अध्यक्ष प्रचण्ड पार्टी गतिविधिमा फर्किएका छन् !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पार्टी गतिविधिमा फर्किएका छन्। भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि उनी नेपाली सेनाको कडा सुरक्षा घेराभित्र रहँदै आएका थिए। आन्दोलनको क्रममा काठमाडौंको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरीसँगको झडपमा १९ जनाको मृत्यु भएको थियो, जसपछि राजनीतिक परिस्थिती असामान्य बनेको थियो।
उक्त घटनाको भोलिपल्ट, भदौ २४ गते, प्रचण्डले सिंहदरबारमा विपक्षी दलहरूसँग बैठक गरेका थिए। तर आन्दोलन तीव्र बन्दै गएपछि सेनाले उनलाई त्यहीँबाट सुरक्षा दिँदै उद्धार गरेको माओवादी केन्द्रका एक उच्च नेताले जानकारी दिएका छन्।
नेताको भनाइअनुसार, वातावरण केही हदसम्म शान्त हुँदै गएपछि प्रचण्ड सोमबारदेखि नियमित पार्टी गतिविधिमा फर्किएका हुन्। उनी आन्दोलनकारीले क्षति पुर्याएको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणका लागि जाने तयारीमा छन्। साथै, पछिल्लो राजनीतिक अवस्थाबारे मूल्याङ्कन गर्न निकट भविष्यमा पदाधिकारी बैठक बोलाउने कार्यक्रम पनि उनले अघि सारेका छन्।
जेनजी आन्दोलनपछि देशको राजनीतिक भूमिकामा नयाँ तनाव थपिएको सन्दर्भमा प्रचण्डको सक्रियता पुनः सुरु हुनु सत्ता समीकरण र आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण हुने देखिन्छ।