समाचार प्रविधि राजनीति

मन्त्री घिसिङको निर्देशन:विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्ने आदेश !

मन्त्री घिसिङको निर्देशन:विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्ने आदेश !

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण (नेपा) को प्रधान कार्यालय, रत्नपार्कस्थित ‘मन्त्री कार्यकक्ष’ तत्काल बन्द गर्ने आदेश दिएका छन्। मंगलबार प्राधिकरण पुगेका मन्त्री घिसिङले सो कार्यकक्षलाई प्राधिकरणकै कामका लागि प्रयोग गर्नुपर्ने स्पष्ट निर्देशन दिएका हुन्।

घिसिङले आफूले ऊर्जा मन्त्रालय सम्हालेपछि प्राधिकरणको कार्यालयलाई कुनै पनि राजनीतिक वा व्यक्तिगत प्रभावभन्दा बाहिर राख्नुपर्ने धारणा राख्दै कार्यकक्ष बन्द गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, “प्राधिकरण स्वतन्त्र संस्थागत ढाँचामा चल्नुपर्छ, मन्त्रीको छुट्टै कार्यकक्ष राख्नु आवश्यक छैन।”

उक्त कार्यकक्ष केही वर्षअघि तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको पहलमा तयार गरिएको थियो। सो क्रममा तत्कालीन प्राधिकरण प्रमुख कार्यकारी निर्देशक घिसिङ र मन्त्री खड्काबीच टकराव भएको तथ्य सार्वजनिक अभिलेखमा भेटिन्छ। खड्काले मन्त्रीको उपस्थितिलाई प्राधिकरणमा संस्थागत गर्नुपर्ने तर्क राखेका थिए भने घिसिङले प्राधिकरणलाई मन्त्रालयको ‘एक्सटेन्सन अफिस’ बनाउन नहुने भन्दै असहमति जनाएका थिए।

यसबीचमा घिसिङ पुनः मन्त्री बनेपछि आफू प्राधिकरणको आन्तरिक संरचना र क्षमता अभिवृद्धिमै केन्द्रित हुने बताउँदै आए। प्राधिकरणमा मन्त्री कार्यकक्ष बन्द गर्ने उनको निर्णयलाई धेरैले संस्थागत स्वायत्तता बलियो बनाउने कदमका रूपमा व्याख्या गरेका छन्।