अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिद्वारा नेपालसहित विश्वका विभिन्न देशका लागि दसैँ टीका साइत सार्वजनिक!

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीका साइत नेपालसहित विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने हिन्दू समुदायलाई लक्षित गर्दै सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकपछि सदस्य–सचिव आचार्य लक्ष्मण पन्थीले वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले निरन्तर जिज्ञासा राखेकाले तिथ्यादि र स्थानीय समय मिलाएर देश–देशअनुसार साइत तोकिएको जानकारी दिनुभयो।
समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईका अनुसार नेपालमा असोज १६ गते बिहान ११:५३ बजे टीका लगाउन शुभ मानिएको छ। सोही दिन भारतको दिल्लीमा बिहान ११:४९, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ तारिख बिहान ११:२५, टेक्सासमा ११:३३, वासिङ्टन डिसीमा ११:३५, क्यालिफोर्नियामा ११:११ र कोलोराडोमा ११:२९ बजे साइत तोकिएको छ। क्यानडाको टोरेन्टोमा अक्टोबर १ तारिख बिहान ११:५५ र भ्यानकुभरमा ११:३३ बजे साइत शुभ रहने उल्लेख गरिएको छ।
अष्ट्रेलियाका विभिन्न सहरहरूमा पनि अलग–अलग साइत तोकिएको छ। सिड्नीमा अक्टोबर २ तारिख बिहान ११:४३, मेलबर्नमा ११:१९, ब्रिस्बेनमा ११:५३, एडिलेडमा ११:३५, क्यानबेरामा ११:५१, तास्मानियामा ११:४५, पर्थमा ११:२५ र डार्बिनमा बिहान ११:४७ बजे साइत शुभ रहेको समितिले जनाएको छ।
त्यस्तै, न्यूजिल्यान्डको बेलिङ्गटनमा अक्टोबर २ तारिख बिहान ११:२३, लण्डनमा ०९:१७, पेरिसमा ०९:५७, ओस्लोमा १०:०३, लिस्बनमा ०९:२३, जेनेभामा १०:२५, माल्टामा १०:५५, क्वालालम्पुरमा ११:११, सियोलमा १०:५७, बैंककमा १०:४५, सिंगापुरमा ११:०९, हङकङमा ११:४५, तेल अविभमा ११:३५, अवुधावी र साउदी अरेबियामा १०:५५ तथा दोहामा १०:१३ बजे साइत तोकिएको समितिका उपाध्यक्ष प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।
समितिले विश्वभरका नेपाली तथा वैदिक परम्पराअनुरागीहरूले आ–आफ्नो स्थानअनुसार सहज रूपमा टीका ग्रहण गर्न सकून् भन्ने उद्देश्यले साइत सार्वजनिक गरेको जनाएको छ। यसले विदेशमा रहेका परिवारहरूलाई पनि दसैँको साझा भावनामा जोड्ने प्रतीकात्मक महत्त्व राख्ने अपेक्षा व्यक्त गरिएको छ।