नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम गर्ने व्यवस्था अस्थायी रूपमा रोकेको छ!
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारमा लागू गरिएको अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम गर्ने व्यवस्था हाललाई स्थगित गरेको छ। नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीका अनुसार, नेपाल धितोपत्र बोर्डको निर्देशनपछि यो प्रावधान रोकिएको हो।
नेप्सेले गत चैतदेखि कारोबारको अन्तिम समय २ः४५ देखि ३ः०० बजेसम्म हुने मूल्यको भारित औसतलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था ल्याएको थियो। यसले बजारमा मूल्य निर्धारणमा पारदर्शिता र स्थायित्व ल्याउने अपेक्षा गरिएको थियो। तर, प्राविधिक परीक्षण र अन्य तयारी नपुगेका कारण अस्थायी रूपमा यो व्यवस्था स्थगित गरिएको पराजुलीले बताए।
उनका अनुसार आइतबार नयाँ प्रणालीको प्राविधिक परीक्षण गर्ने तयारी भएको छ। सोमबार सार्वजनिक बिदा परेकाले मंगलबारदेखि मात्र नयाँ प्रावधान कार्यान्वयन हुने नेप्सेले जनाएको छ।
यसअघि गत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१ अनुसार, विनियम ११ उपविनियम (७) मा यो प्रावधान स्पष्ट गरिएको थियो। त्यसअनुसार २ः४५ देखि ३ः०० बजेसम्म कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो।
शेयर बजारमा मूल्य निर्धारण प्रणालीबारे पटक–पटक आलोचना हुने गरेको अवस्थामा नेप्सेले ल्याएको यो नयाँ अभ्यास अस्थायी स्थगन भए पनि लगानीकर्ताले यसलाई दीर्घकालीन सुधारको पूर्वतयारीको रूपमा लिएको देखिन्छ।