हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक सभा सम्पन्न, ८% नगद लाभांश पारित

हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गर्दै शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। २०८२ असोज ९ गते (२५ सेप्टेम्बर २०२५) काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित कम्पनी दर्ता कार्यालयमा सम्पन्न सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरणमाथि छलफल गरी अनुमोदन गरेको थियो।
साधारण सभाले आ.व. २०८२/८३ का लागि कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ।
सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले कम्पनीले छोटो समयमा हासिल गरेको उपलब्धीबारे जानकारी दिँदै अनुपालन, सुशासन र आधुनिक प्रविधिको प्रयोगमा ध्यान केन्द्रित गरेर सर्वसुलभ धितोपत्र दलाल सेवा प्रदान गर्ने लक्ष्य रहेको बताएका थिए। उनका अनुसार, कम्पनीले पूँजी बजारमा पारदर्शी र सहज पहुँच हुने सेवा उपलब्ध गराएर नेपालको धितोपत्र दलाल व्यवसायमा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्य राखेको छ।
साधारण सभामा नायब प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, कम्पनीले छोटो अवधिमा सेवा विस्तार र संस्थागत संरचना मजबुत बनाउन प्रगति हासिल गरेको र आगामी दिनमा पनि सेवा स्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस निर्णयसँगै हिमालयन सेक्युरिटिज लिमिटेडले शेयरधनीको प्रत्यक्ष लाभ र पूँजी बजारमा स्थायित्व दुवैलाई सन्तुलनमा राख्ने प्रयास गरेको देखिन्छ।