समाचार

५० फिट तल खसेको अटो, दुई बालबालिकाको शव फेला- आमा अझै बेपत्ता!

५० फिट तल खसेको अटो, दुई बालबालिकाको शव फेला- आमा अझै बेपत्ता!

दार्चुला जिल्लाको नौगाड गाउँपालिका–५ सौकेबगरमा भाद्र १६ गते दिउँसो भएको अटो दुर्घटनामा वेपत्ता भएका यात्रुहरूमध्ये दुई जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा खोजीकार्य जारी रहँदा १२ वर्षीया आरुषा धामी र १७ वर्षीया भागा धामी मृत अवस्थामा भेटिएका हुन्। आरुषाको शव दुर्घटना स्थल नजिकै करिब सात मिटर पश्चिममा र भागाको शव करिब सात किलोमिटर पश्चिमतर्फ खोलामा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

घटनामा प्रयोग भएको म १ ह ११४८ नम्बरको अटो होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गर्दा नियन्त्रण गुमाएर करिब ५० फिट तल नौगाड खोलामा खसेको थियो। अटोमा पाँच जना सवार थिए।

दुर्घटनामा परि सोही ठाउँका १६ वर्षीय आयुष भुल घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यस्तै, अझै बेपत्ता रहेका ४७ वर्षीया चाखुरी देवी धामीको खोजी जारी छ। अटो चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटना भएको खबर पाएसँगै सशस्त्र प्रहरी बल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायब निरीक्षक दलजित सिंह डोबालको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त टोली तत्कालै घटनास्थलमा खटिएको थियो।

स्थानीय सडक पूर्वाधार, सुरक्षात्मक उपाय र दुर्गम क्षेत्रमा हुने यातायात दुर्घटनाका पुनरावृत्तिबारे समुदायमा चिन्ता बढ्दै गएको छ। यस दुर्घटनाले दुर्गम भेगमा यात्रु सुरक्षाको चुनौती पुनः स्मरण गराएको छ।