आईपीओको लहरमा सनराइज होल्डिङ्गस्: सर्वसाधारणका लागि रु.२४ करोड बराबरको शेयर जारी

सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले यस प्रयोजनका लागि निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ । सम्झौतामा सनराइज होल्डिङ्गस् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकास सिलवाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका सिइओ बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रेस विज्ञप्ति अनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य रु. १०० दरका २४ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो, जसको कुल मूल्य रु. २४ करोड हुने छ । यसले सर्वसाधारणलाई कम्पनीमा प्रत्यक्ष सहभागिता गर्ने अवसर दिने उल्लेख गरिएको छ ।
सनराइज होल्डिङ्गस् लिमिटेड सन् २०७१ सालमा स्थापना भएको एक लगानी कम्पनी हो । कम्पनीका अनुसार हालसम्म जलविद्युत, यातायात, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । “उच्च प्रतिफल दिने सम्भावना भएका नयाँ क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने हाम्रो उद्देश्य हो,” कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपालको पूँजी बजारमा पछिल्लो समय निजी क्षेत्रका विभिन्न कम्पनीहरूले सर्वसाधारणबाट पुँजी संकलन गर्न आईपीओ जारी गर्ने क्रम बढिरहेको छ । यसले लगानीकर्तालाई नयाँ विकल्प प्रदान गर्ने मात्र होइन, कम्पनीहरूको वित्तीय संरचना सुदृढ गर्न पनि सहयोग पुर्याएको विश्लेषण विज्ञहरूले गर्दै आएका छन् ।
सनराइज होल्डिङ्गस् लिमिटेडको आगामी साधारण शेयर निष्काशन पनि सोही प्रवृत्तिको निरन्तरता भएको देखिन्छ । कम्पनीले लगानी क्षेत्रमा विविधीकरण गर्दै दीर्घकालीन प्रतिफल दिने विश्वास व्यक्त गरे पनि यसको वास्तविक लाभांश र बजार प्रभाव भने भविष्यमा मात्रै मूल्याङ्कन गर्न सकिनेछ ।