सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा कोहलपुरमा वित्तीय पारदर्शिता र सुशासन सम्बन्धी तालिम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको सीप अभिवृद्धि र नियामक मापदण्डको पालना सुदृढ गर्न लक्षित तालिम कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ। कम्पनीले आयोजित सो कार्यक्रममा “फाइनान्सियल इन्टिग्रिटी एण्ड रिस्क मिटिगेसन” सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र उपनिर्देशक पदम प्रसाद सोडारीले तालिम सञ्चालन गर्दै जीवन बीमा क्षेत्रमा देखापर्ने चुनौती र जोखिमबारे सहभागीहरूलाई जानकारी दिएका थिए। सुवेदीले विश्वव्यापी रूपमा मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता समस्याले बीमा क्षेत्रलाई पनि प्रभावित पार्न सक्ने भन्दै समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए। सोडारीले नियामक निकायका सर्तहरूको कडाइका साथ पालना नगरेमा बीमा कम्पनीको विश्वसनीयता कमजोर हुन सक्ने चेतावनी दिएका थिए।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकारी कबि फुयाल, प्रमुख बजार अधिकारी गणेश चौलागाईँ तथा विभागीय प्रमुखहरूसहित नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखहरूको सहभागिता थियो। उपस्थित व्यवस्थापन टोलीले तालिमले कम्पनीमा पारदर्शिता र सुशासनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ। तालिमलाई कम्पनीले आफ्नो दीर्घकालीन रणनीतिक योजनाको हिस्सा मान्दै कर्मचारीहरूको व्यावसायिक दक्षता र बीमा प्रणालीमा सुरक्षात्मक अभ्यासलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।