समाचार विदेश

चुनावी झट्कापछि एलडिपी संकटमा : महासचिव मोरियामाको राजीनामा, प्रधानमन्त्री इसिबा दबाबमा

चुनावी झट्कापछि एलडिपी संकटमा : महासचिव मोरियामाको राजीनामा, प्रधानमन्त्री इसिबा दबाबमा

जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का महासचिव हिरोसी मोरियामाले जुलाईमा सम्पन्न माथिल्लो सदनको चुनावी परिणामलाई जिम्मेवारीका रूपमा स्वीकार गर्दै मङ्गलबार पद त्याग्ने प्रस्ताव गर्नुभएको छ। पार्टी बैठकमा मोरियामाले “म चुनाव परिणामको जिम्मेवारी लिन महासचिवको पदबाट राजीनामा दिन चाहन्छु” भन्दै आफ्नो प्रस्ताव प्रस्तुत गर्नुभयो।

जुलाई २० मा भएको निर्वाचनमा एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाएको थियो। यसअघि तल्लो सदनमा अल्पमतको सरकार बनेको पृष्ठभूमिमा आएको उक्त परिणामले पार्टीभित्र नेतृत्वमाथि प्रश्न उठेको हो। मोरियामाको राजीनामाबारे अन्तिम निर्णय प्रधानमन्त्री शिगेरु इसिबाले गर्ने बताइएको छ।

प्रधानमन्त्री इसिबाले भने तत्काल पदत्यागको मागलाई अस्वीकार गर्दै “सही समयमा उचित निर्णय गर्ने छु, जिम्मेवारी लिनबाट भाग्दिनँ, तर पदमै टाँसिरहने सोच पनि छैन” भन्नुभएको छ। यसबीच, पार्टीका दुई अन्य शीर्ष अधिकारी—सामान्य परिषद्का अध्यक्ष सुनिची सुजुकी र नीति प्रमुख इतसुनोरी ओनोडेराले पनि इसिबालाई पद छोड्ने सङ्केत गर्नुभएको छ।

१९५० को दशकदेखि जापानी राजनीतिमा केन्द्र–दक्षिणपन्थी एलडिपीले करिब निरन्तर शासन गर्दै आएको छ। करिब एक वर्षअघि मात्र प्रधानमन्त्री बनेका इसिबा हाल मुद्रास्फीति र भ्रष्टाचारसम्बन्धी घोटालाले आलोचनाको घेरामा छन्। तर पछिल्लो सर्वेक्षणले जनसमर्थनमा सुधार देखाएको छ।

दैनिक योमियुरी सिम्बुन ले गरेको सर्वेक्षणअनुसार ५० प्रतिशत उत्तरदाताले इसिबा निरन्तर पदमा रहनुपर्ने बताएका छन् भने ४२ प्रतिशतले राजीनामाको पक्ष लिएका छन्। समाचारपत्रले समर्थन बढ्नुको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गरिएको नयाँ व्यापार सम्झौता र चामल मूल्य नियन्त्रणका लागि चालेका कदम भएको व्याख्या गरेको छ।

सम्झौताअनुसार अमेरिकी कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइएको छ र जापानी कार उद्योगका लागि पनि समान सुविधा प्रदान गरिएको छ। यसले मतदाताको समर्थन जुन महिनामा २९ प्रतिशतमा सीमित भएकोमा ४२ प्रतिशतसम्म उकासेको देखिएको छ। साथै, चामल उत्पादन बढाउनेतर्फ सरकारको नीति परिवर्तनलाई ८६ प्रतिशत जनताले अनुमोदन गरेका छन्। सन् २०२३ को तातो गर्मी र गत वर्षको ‘मेगाक्वेक’ चेतावनीले आपूर्ति संकट उत्पन्न भएपछि चामल मूल्य आकासिँदै गएको थियो।

मूल्य नियन्त्रणका लागि सरकारले आपत्कालीन भण्डारण सार्वजनिक गरेको छ। सो क्रममा प्रधानमन्त्री इसिबाले कृषि मन्त्रालयको नेतृत्व लोकप्रिय ४४ वर्षीय शिन्जिरो कोइजुमीलाई दिनुभएको छ। कोइजुमीलाई भविष्यको सम्भावित नेतृत्वका प्रतिस्पर्धीका रूपमा पनि हेरिएको छ, जसले एलडिपीभित्रको शक्ति सन्तुलनलाई अझ जटिल बनाएको छ।

जापानको वर्तमान राजनीतिक अस्थिरता केवल चुनावी परिणाम वा व्यक्तिको पदत्यागमा सीमित नभई पार्टीको भविष्यको दिशानिर्देशन र नीतिगत स्थायित्वसँग पनि गासिएको देखिन्छ।