मनाङका विकट हिमाली गाउँमा पुग्यो टेलिकमको ४जी सेवा, पर्यटन र व्यापारमा नयाँ आशा!

नेपाल टेलिकमले मनाङ जिल्लाका दुर्गम तथा भौगोलिक दृष्टिले विकट ठहरिएका स्थानमा नयाँ बेस ट्रान्ससीभर स्टेसन (बीटीएस) स्थापना गर्दै मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार पर्यटक र स्थानीयको चाप बढेसँगै पुरानो सीडीएमए प्रविधिबाट मात्र गुणस्तरीय सेवा दिन कठिनाइ भएकोले असोज ४ गतेदेखि थप ४जी सेवा सुरु गरिएको हो।
लामो समयदेखि चामे, ङावल, टंकी मनाङ र खाङसारमा सीडीएमए प्रविधिबाट सेवा दिइँदै आएकोमा नयाँ बीटीएस स्थापना भएपछि स्थानीय बासिन्दा, व्यवसायी तथा पर्यटकले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। भौगोलिक विकटता र यातायात कठिनाइका कारण यसअघि चुम्बकिय तरङ्ग (माइक्रोवेभ लिंक) बाट सेवा विस्तार सम्भव नभएको अवस्थामा बेँसीसहर–खाङसार लिंक सञ्चालन भएपछि ४जी मोबाइल सेवा उपलब्ध भएको नेपाल टेलिकमले जनाएको छ।
यसै क्रममा चामे गाउँपालिका–३ को कोटो गाउँमा स्थानीय बासिन्दा र जलविद्युत क्षेत्रमा कार्यरत सयौं जनशक्तिको मागअनुसार असोज १ गतेदेखि नयाँ बीटीएसमार्फत २जी र ४जी दुवै सेवा उपलब्ध गराइएको छ। नासोङ गाउँपालिका–१ तालगाउँमा पनि असोज ५ गतेदेखि थप ४जी सेवा सञ्चालनमा आएको छ, जसले लमजुङ जिल्लाको उत्तरी खण्डसम्म कभरेज पुर्याउने कम्पनीले जनाएको छ।
हाल नार्पाभूमी गाउँपालिका बाहेक मनाङका सबै स्थानीय तहमा नेपाल टेलिकमको ४जी मोबाइल सेवा पुगेको छ। नार र फू गाउँ तथा भम्थाङ–कोठी क्षेत्रमा भने अझै सीडीएमए प्रणालीबाट सेवा प्रवाह भइरहेको छ।
“दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कामलाई नेपाल टेलिकमले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ,” प्रवक्ता रबिन्द्र मानन्धरले प्रेस विज्ञप्तिमार्फत बताएका छन्। उनका अनुसार तलिचो बेसक्याम्प र थोरोङ फेदीमा पनि निकट भविष्यमा ४जी सेवा सुरु गर्ने प्रक्रिया अघि बढाइसकेको छ।
मनाङ जिल्लामा गरिएको सेवाको विस्तारले स्थानीय संचार सुविधा मात्र नभई पर्यटन व्यवसाय र आपतकालीन सम्पर्कलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।