चाडपर्व र आम निर्वाचन सुरक्षामा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नजिकिंदै गरेका चाडपर्व र आगामी निर्वाचनलाई लक्षित गर्दै मातहत इकाईहरूलाई सुरक्षात्मक र व्यवस्थापकीय तयारीमा जुट्न निर्देशन दिएका छन्। असोज १० गते प्रधान कार्यालयबाट जारी गरिएको निर्देशनमार्फत उनले बडादशैंँ, तिहार, नेपाल संवत ११४६ र छठ पर्व सुरक्षित ढंगले सम्पन्न गर्न विशेष योजना कार्यान्वयन गर्न आग्रह गरे।
अर्यालले हालैको ‘जेन–जी आन्दोलन’मा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्यको शक्ति मिलोस् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने कामना व्यक्त गरे। साथै, फागुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक तयारी सुरु गर्न पनि निर्देशन दिए।
चाडपर्वको समयमा सीमा नाकाबाट स्वदेश फर्किने नागरिकलाई सहज र सुरक्षित आवागमन उपलब्ध गराउन सहायता–डेस्क स्थापना गर्ने, सरोकारवालासँग समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन उनले आदेश दिए। उनले पर्वका दिनमा सडक दुर्घटना, बाढी, पहिरो र आगलागी जस्ता विपद्का जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई तयारी अवस्थामा राख्न, चेतावनी प्रणालीलाई सुदृढ गर्न र विपद् प्रतिकार्य योजना अद्यावधिक गर्न समेत मातहत इकाईलाई स्मरण गराए।
महानिरीक्षक अर्यालले राजस्व चुहावट रोक्न सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिँदै चोरी तस्करी नियन्त्रणले राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्ने बताए। उनले चाडपर्व र निर्वाचनका बेला चुनौती थपिने सम्भावनालाई औंल्याउँदै, “उच्च मनोबल र कार्यकुशलताका साथ एकजुट भई योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक छ,” भन्ने धारणा राखे।
सशस्त्र प्रहरी प्रमुखको भनाइ अनुसार, आगामी महिना र चाडपर्वमा सुरक्षात्मक चनाखोपन र नागरिकमैत्री व्यवस्थापन बलियो बनाउने जिम्मेवारी सम्पूर्ण इकाईको साझा दायित्व हुनेछ।