समाचार

जीवन बीमक संघ नेपालमा नयाँ कार्यसमिति गठन!

जीवन बीमक संघ नेपालमा नयाँ कार्यसमिति गठन!

जीवन बीमक संघ नेपालले छैठौं वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमिति गठन गर्दै प्रवीण रमण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ। २०८२ भदौ २९ गते (१४ सेप्टेम्बर २०२५) काठमाडौंमा सम्पन्न सभाले सर्वसम्मत निर्णयमार्फत पराजुलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो। पराजुली हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्।

संघको विधानअनुसार गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा सूर्यज्योति लाइफका प्रकाश विक्रम खत्री, सचिवमा रिलायबल नेपालका नारायण लोहनी, कोषाध्यक्षमा एशियन लाइफका दिनेश लाल श्रेष्ठ र सदस्यमा हिमालयन लाइफका मनोजलाल कर्ण, राष्ट्रिय बीमा संस्थानका सुन्दर पन्थी तथा एलआइसी नेपालका प्रणय कुमार चयन भएका छन्।

संघले नयाँ कार्यसमितिको कार्यकालमा बीमा क्षेत्रमा देखिएका चुनौती र सम्भावनालाई सम्बोधन गर्दै बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीहरूको क्षमता अभिवृद्धि, हकहित संरक्षण र बीमा सेवाको सर्वसुलभ विस्तारमा ध्यान दिने प्रतिबद्धता जनाएको छ। साथै, बीमितको हितका लागि कार्यक्रम सञ्चालन गर्ने र नीति निर्माण तहमा प्रभावकारी भूमिका खेल्ने संघको भनाइ छ।

सभामा बीमा कम्पनीका प्रतिनिधिहरू र संघका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जीवन बीमा क्षेत्रमा हाल देखिएका संरचनागत चुनौती, ग्राहक पहुँच विस्तारका सम्भावना र संघको भावी रणनीतिबारे छलफल गरेका थिए।

यस नयाँ नेतृत्वसँगै जीवन बीमा क्षेत्रले संस्थागत सहकार्य र नीति–संवादमा सक्रियता बढाउने अपेक्षा गरिएको छ, जसले बीमा सेवाको पहुँच विस्तार र वित्तीय सुरक्षामा योगदान पुर्‍याउने संघको दाबी छ।