सप्तकोसीमा बहाव बढ्दा कोसी ब्यारेजका ३८ ढोका खुला, सतर्क रहन आग्रह

सप्तकोसी नदीमा पानीको सतह तीव्रगतिमा बढेसँगै कोसी ब्यारेजका अधिकांश ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोसी ब्यारेजमा प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पानीको बहाव पुगेपछि ५६ मध्ये ३८ ढोका खोलिएको हो। यसअघि दिउँसो ४ बजेको मापनमा बहाव दुई लाख ५६ हजार १० क्युसेक पुगेको र सो समयमा ३४ ढोका खोलिएको उनले जानकारी दिए।
खतिवडाका अनुसार ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेक भन्दा बढी बहाव पुगेपछि खतराको सङ्केतका रूपमा प्रयोग गरिन्छ। “रातो बत्ती बाल्नु भनेको सम्भावित जोखिम देखिएको अवस्था हो, जसले स्थानीयवासी र सरोकारवालालाई सतर्क रहन संकेत गर्दछ,” उनले स्पष्ट पारे।
हाल तत्काल डुबानको प्रत्यक्ष जोखिम भने नरहेको प्रहरीको भनाइ छ। तर, लगातारको वर्षाका कारण पहाडी भेगबाट आउने पानी अझै बढ्ने सम्भावना भएकाले नदी आसपासका बासिन्दा र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कोसी नदी विगतमा पटक–पटक ठूलो विनाशको कारण बनेको स्मरण गर्दा यसपटक पनि सचेतताले मात्र सम्भावित क्षति न्यून गर्न सक्ने देखिन्छ।