समाचार

लेक लागेर पर्यटकको मृत्यु बढ्दो क्रममा

लेक लागेर पर्यटकको मृत्यु बढ्दो क्रममा

हिमाल आरोहण र पदयात्राका लागि आकर्षण बनेको अन्नपूर्ण क्षेत्रमा ‘लेक’ लाग्ने समस्या थप गम्भीर बन्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दुई आर्थिक वर्षमा मात्रै ३८ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा १८ जनाको मृत्यु भएकोमा नेपाली १, भारतीय ८, अमेरिकी, कोरियन, जर्मन र स्विट्जरल्यान्डका एक–एक नागरिक रहेका थिए । त्यसअघि २०८०/८१ मा २० जनाले ज्यान गुमाएका थिए, जसमा नेपाली ५, भारतीय ११, बेलायत र युक्रेनका एक–एक तथा मलेसियाका दुई जना थिए । यी तथ्याङ्कले मृतक मध्ये ठूलो हिस्सा भारतीय (१९) र नेपाली (११) पर्यटक भएको देखाउँछ ।

एक्यापका प्रमुख डा. रविन कडरियाले छोटो समयमा होचो भूभागबाट उचाइमा पुग्ने हतारो यात्राका कारण पर्यटकलाई गम्भीर समस्या हुने बताए । उनका अनुसार पोखराबाट बिहानै हिँडेर दिउँसो मुक्तिनाथ पुग्ने, वा मनाङ–तिलिचो जस्ता उच्च भूभाग छोटो अवधिमा पुग्ने प्रवृत्ति स्वास्थ्यका लागि जोखिमपूर्ण छ । उनले भने, “कम्तीमा मुस्ताङमा एक दिन बास बसेर गयो भने सजिलो हुन्छ, तर कतिपयले हतार गरेर ज्यान नै जोखिममा पारिरहेका छन् ।”

अन्नपूर्ण क्षेत्रमा करिब दुई हजार ४५० होटल सञ्चालनमा रहेका छन्, जसलाई एक्यापले व्यवस्थापन समितिसँग मिलेर समन्वय गर्दै आएको जनाएको छ । तर, होटल सङ्घ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैरेका अनुसार पर्यटन व्यवसायमै ‘हतार यात्राको’ प्रवृत्ति बढ्दो क्रममा छ । उनले भने, “तराई वा भारतका सीमावर्ती सहरबाट आउने पर्यटकले समुद्री सतह नजिकैको उचाइबाट एकै दिन तीन हजार ७१० मिटरको मुक्तिनाथ पुग्दा शरीरले सहन सक्दैन । समय लिएर, आराम गर्दै र आवश्यक तयारीसहित मात्र उच्च भूभागमा जानुपर्छ ।”

पर्यटन व्यवसायीहरूले हालै पोखराबाट एकै दिन मुक्तिनाथ पुगेर फर्कने पर्यटकको संख्या बढेको उल्लेख गर्दै यसले मृत्यु जोखिम मात्र नभई नेपालको पर्यटन छविलाई पनि अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन् ।

लेक लाग्ने घटनाले अन्नपूर्ण क्षेत्र जस्तो लोकप्रिय गन्तव्यमा सुरक्षा व्यवस्थापन र चेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ । आगामी दिनमा समयमै सचेत कदम नचालिए यात्राको रोमाञ्चन स्वास्थ्यको मूल्यमा चुकाउनु पर्ने अवस्था अझै बढ्ने खतरा प्रस्ट देखिन्छ ।