समाचार विदेश

रूसको युद्ध अब ‘कोरियाली युद्ध’? पुटिन-किम भेटपछि अमेरिका चिन्ति

रूसको युद्ध अब ‘कोरियाली युद्ध’? पुटिन-किम भेटपछि अमेरिका चिन्ति

बेइजिङमा आयोजित दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव सैन्य परेडलाई अवसर बनाएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच मंगलबार भेटवार्ता भएको छ। दुवै नेताले औपचारिक कार्यक्रममा सहभागी भएपछि दियाओयुताई राज्य अतिथिगृहमा छलफल गर्नुभएको हो। क्रेमलिनले सामाजिक सञ्जालमार्फत पुटिन र किम एउटै कारमा वार्तास्थल पुगेको विवरण सार्वजनिक गरेको छ।

वार्ता सुरु हुनेबित्तिकै पुटिनले युक्रेनमा लडिरहेका उत्तर कोरियाली सैनिकको साहस र योगदानको प्रशंसा गर्नुभयो। दक्षिण कोरियाली अधिकारीहरूको अनुमानअनुसार, उत्तर कोरियाले गत वर्षदेखि करिब १५ हजार सैनिकसहित ब्यालेस्टिक मिसाइल र तोपखाना रुसी सेनालाई उपलब्ध गराएको छ, जसले युक्रेन युद्धमा रूसलाई ठुलो सहयोग पुगेको छ।

किमले आफ्नो प्रारम्भिक सम्बोधनमा प्योङयाङ–मस्कोबीचको सम्बन्ध विगत वर्षको शिखर बैठकयता थप गहिरो भएको उल्लेख गर्दै, आवश्यक परे भ्रातृ दायित्वका आधारमा रूसलाई सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिनुभयो। युद्धबारे प्रत्यक्ष उल्लेख नगरे पनि उहाँले साझेदारीलाई साझा जिम्मेवारीको रूपमा प्रस्तुत गर्नुभयो।

यो अवसर किमको १४ वर्ष लामो शासनकालमा पहिलोपटक प्रमुख बहुपक्षीय कार्यक्रममा देखिएको उपस्थिति हो। बेइजिङमा भएको भव्य समारोहमा पुटिन, किम र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै स्थानमा उपस्थित भएपछि क्षेत्रीय कूटनीतिक सन्तुलनप्रति थप चासो देखिएको छ। यद्यपि सी र किमबीच वा सी, पुटिन र किमबीच अलग बैठक हुने सम्भावनाबारे अहिलेसम्म कुनै पक्षले औपचारिक पुष्टि गरेको छैन।

एशियाली शक्तिहरूबीच यस्तो उच्चस्तरीय भेटले युक्रेन युद्ध र क्षेत्रीय सुरक्षा समीकरणमा नयाँ प्रभाव पार्ने अनुमान गरिएको छ, जसको प्रत्यक्ष प्रभाव निकट भविष्यमा स्पष्ट हुने देखिन्छ।