समाचार विदेश

ट्रम्पको विस्फोटक आरोप: सी, पुटिन र किम मिलेर अमेरिकाविरुद्ध ठूलो खेल खेले

ट्रम्पको विस्फोटक आरोप: सी, पुटिन र किम मिलेर अमेरिकाविरुद्ध ठूलो खेल खेले

बेइजिङमा दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८० औँ वार्षिकोत्सवका अवसरमा आयोजित भव्य सैन्य परेडले अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रमा नयाँ बहस थपेको छ । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उन सहभागी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि अमेरिकाविरुद्ध ‘षड्यन्त्र’ गरेको आरोप लगाएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै सीको उपस्थितिलाई अमेरिका विरोधी सन्देशको रूपमा चित्रण गरे । उहाँले भने, “राष्ट्रपति सी र चीनका जनताले भव्य उत्सव मनाउन शुभकामना । कृपया पुटिन र किमलाई मेरो अभिवादन दिनुहोस्, किनकि तपाईंहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो।” ट्रम्पले त्यही अवसरमा प्रश्न उठाए कि द्वितीय विश्वयुद्धताका अमेरिकीहरूले चीनको स्वतन्त्रता सुरक्षित गर्न दिएको समर्थन र बलिदानलाई आजको चीनले सम्झिएको छ कि छैन ।

सेप्टेम्बर ३ लाई चीनले लामो समयदेखि जापानमाथिको विजय दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्षको परेडमा चीनले आफ्नो एचक्यू–९सी मिसाइल प्रणालीसहित अत्याधुनिक सैन्य शक्ति प्रदर्शन गर्यो । पाकिस्तानी मिडियाका अनुसार यस मिसाइल प्रणालीको संस्करण पाकिस्तानले पनि उपयोग गरेको भए पनि भारतीय आक्रमण रोक्न असफल भएको थियो ।

परेडका क्रममा राष्ट्रपति सी जिनपिङले चीनलाई “अजेय” भन्दै शान्तिपूर्ण विकासको बाटोमा अडिग रहने प्रतिवद्धता दोहोर्याए । उहाँले भने, “मानवता अहिले शान्ति वा युद्ध, संवाद वा टकरावको छनोटमा उभिएको छ । चीन सधैँ शान्तिपूर्ण विकासको बाटोमा रहने छ र साझा भविष्य भएको समुदाय निर्माणमा हातेमालो गर्ने छ।” साथै उहाँले सेनालाई विश्वस्तरीय शक्ति बन्न आह्वान गर्दै राष्ट्रिय सार्वभौमिकता, एकता र क्षेत्रीय अखण्डताको दृढ रक्षा गर्न निर्देशन दिनुभयो ।

चिनियाँ राष्ट्रवाद र अमेरिकी आलोचना बीचको यो टकरावले ठूलो शक्ति राजनीतिमा अझ गहिरो विभाजन देखाएको छ । सीको भनाइअनुसार, शान्तिपूर्ण सहअस्तित्व र समान व्यवहारमार्फत मात्र साझा सुरक्षा सम्भव हुन्छ, तर ट्रम्पको आक्रोशले वाशिङ्टन–बेइजिङ सम्बन्धमा अझै तनावपूर्ण दिनहरूको संकेत गरेको छ ।