समाचार शेयर

दुसित थानी हिमालयन रिसोर्टले साधारण शेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल नियुक्त

दुसित थानी हिमालयन रिसोर्टले साधारण शेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल नियुक्त

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड) ले साधारण शेयर सार्वजनिक निष्काशन (IPO) प्रक्रिया अघि बढाउन सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। भदौ १७ गते (सेप्टेम्बर २) काठमाडौंमा आयोजित एक समारोहमा दुवै संस्थाबीच सम्झौता भएको हो।

सम्झौतामा ओमस्टोन होटेल्सका प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए। कार्यक्रममा प्रमुख विदेशी लगानीकर्ता विष्णु मोर पनि उपस्थित थिए। सम्झौता अनुसार सिटिजन्स क्यापिटलले रिसोर्टको साधारण शेयर निष्काशन तथा बिक्री व्यवस्थापन गर्नेछ।

दुसित थानी हिमालयन रिसोर्ट सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको हो। काभ्रेको पात्लेखेतमा अवस्थित यो सुविधा अन्तर्राष्ट्रिय ब्रान्ड Dusit Thani अन्तर्गत नेपालमा सञ्चालन भइरहेको हो। कम्पनीले यसलाई नेपालको पर्यटन पूर्वाधारमा महत्त्वपूर्ण योगदान गर्ने परियोजना भनेर प्रस्तुत गरेको छ। ओमस्टोन होटेल्सले विज्ञप्तिमा भनेको छ, “रिसोर्ट नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन लक्ष्यतर्फ प्रेरित गर्ने कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ।”

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्ड सेवामा संलग्न रहँदै आएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस संस्थामा सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष र निजी उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ।

नेपालको पर्यटन उद्योग कोभिड–१९ महामारीपछिको पुनरुत्थान चरणमा रहेको समयमा अन्तर्राष्ट्रिय ब्रान्ड होटलहरूले पूँजी बजारमार्फत लगानी जुटाउने पहलले बजारमा थप चासो ल्याएको छ। विश्लेषकहरूले यसलाई आतिथ्य क्षेत्रमा दीर्घकालीन संरचना निर्माणतर्फको एक कदमका रूपमा हेरेका छन्।