समाचार विदेश

कङ्गोमा २१ अर्ब डलरको कतारी लगानी: द्वन्द्व समाधानसँगै आर्थिक लगानी सुरु!

कङ्गोमा २१ अर्ब डलरको कतारी लगानी: द्वन्द्व समाधानसँगै आर्थिक लगानी सुरु!

कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा करिब २१ अर्ब अमेरिकी डलर लगानी गर्ने तयारी गरेको जनाएको छ। समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले मङ्गलबार राजधानी किन्शासामा पुगेर प्रधानमन्त्री जुडिथ सुमिन्वासँग भेटवार्ताका क्रममा ‘आशयपत्र’ पेस गरिएको कतारी प्रतिनिधिमण्डलको कार्यालयले विज्ञप्ति मार्फत् पुष्टि गरेको हो।

विज्ञप्तिअनुसार लगानी कृषि, खानी, वित्त, औषधि उत्पादनदेखि हाइड्रोकार्बन उद्योगसम्म विभिन्न क्षेत्रमा केन्द्रित हुनेछ। यो प्रतिज्ञा अल मन्सुर होल्डिङको पछिल्लो अफ्रिकी पहलसँग जोडिएको हो, जसअन्तर्गत गत महिना कम्पनीले दक्षिण अफ्रिकाका चार देश*बोत्सवाना, मोजाम्बिक, जाम्बिया र जिम्बाब्वेमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। यस घोषणालाई अमेरिकी सहायता कटौतीको पृष्ठभूमिमा कतारले आफ्नो आर्थिक उपस्थिति विस्तार गर्ने रणनीतिको हिस्सा मानिएको छ।

लगानी घोषणाको अर्को महत्त्वपूर्ण पाटो भने कङ्गोको पूर्वी क्षेत्रमा लामो समयदेखि चलिरहेको द्वन्द्वसँग प्रत्यक्ष सम्बन्धित छ। रुवान्डा समर्थित एम-२३ समूहले यस वर्षको सुरुवातमा दुई प्रान्तीय राजधानी कब्जा गरेपछि संघर्ष फेरि चर्किएको थियो। त्यसपछि राष्ट्रपति पल कागामे र कङ्गोली समकक्षी फेलिक्स शिसेकेडीबीच मार्चमा दोहामा शान्ति वार्ता भएको थियो। कतारले युद्धविरामका लागि गरेको मध्यस्थता तत्काल प्रभावकारी हुन नसके पनि, जुन महिनामा वासिङ्टनमा शान्ति सम्झौता र जुलाईमा युद्धविराम प्रतिबद्धता भए। तर, द्वन्द्व अझै रोकिएको छैन।

यस्तो अवस्थामा दोहाको सक्रियता र कतारी लगानी प्रतिबद्धताले कङ्गोको राजनीतिक र आर्थिक परिदृश्यमा नयाँ मोड दिन सक्ने अनुमान गरिएको छ। तर वास्तविक प्रभाव कति पर्छ भन्ने कुरा द्वन्द्व शान्त पार्ने प्रयासले कस्तो परिणाम ल्याउँछ भन्नेमा निर्भर रहनेछ।