एउटै दिन तीन पटक भूकम्प!

सिन्धुपाल्चोक जिल्लाको तारामराङ नजिक मङ्गलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। यस भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै वरपरका जिल्लामा पनि अनुभव गरिएको जनाइएको छ।
यसअघि त्यही दिन बिहान ६ः१५ मा गोरखा अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको अर्को भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रमा ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प मापन गरिएको केन्द्रले पुष्टि गरेको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ती सबै भूकम्प हल्का भए पनि निरन्तर दोहोरिने गतिविधिले प्रभावित क्षेत्रमा त्रास र अनिश्चितता बढाएको छ। २०७२ सालको महाभूकम्पको गहिरो घाउ अझै भुल्न नसकेको बेला छोटो अवधिमा भूकम्पको पुनरावृत्ति हुनु चेतावनीका संकेत हुन् भन्ने स्थानीयहरूको भावना छ।
नेपाल भूकम्पीय हिसाबले अति संवेदनशील क्षेत्रमा पर्ने भएकाले वैज्ञानिकहरूले सतर्कता र तयारीलाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै आएका छन्। पछिल्ला भूकम्पहरूले त्यो चेतावनीलाई फेरि बलियो बनाइदिएका छन्।