अमेरिकी हेलिकोप्टरसँगै नेपाल–अमेरिका सम्बन्ध अझ गाढा, चीन असहज?

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गरेको छ। उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–अमेरिका सम्बन्धलाई विश्वासमा आधारित, दिगो र ऐतिहासिक साझेदारीको रूपमा व्याख्या गर्दै अमेरिकाको सहयोगलाई मित्रता र सहकार्यको प्रतीक भनेकी थिइन्।
डा. राणाले प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरणदेखि मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना र क्षमता विकाससम्मका क्षेत्रमा अमेरिकाले नेपाललाई विश्वसनीय विकास साझेदारका रूपमा साथ दिएको उल्लेख गरिन्। उनले नेपाललाई निरन्तर सहयोग गरिरहेको अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गर्दै, अमेरिका–नेपाल सम्बन्ध शान्ति, स्थायित्व र मानव सेवामा केन्द्रित रहेको प्रष्ट पारिन्।
समारोहमा रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देल पनि उपस्थित थिए। अमेरिकी राजदूत डिन आर. थम्पसनले औपचारिक रूपमा स्काइ ट्रक हस्तान्तरण गरेका थिए। मन्त्री राणाले अनुशासन, समर्पण र राष्ट्रियताको भावनासहित विश्व शान्ति र सुरक्षाप्रति निरन्तर प्रतिबद्ध रहँदै आएको भन्दै नेपाली सेनाको प्रशंसा पनि गरिन्।
स्काइ ट्रकहरू उद्धार कार्य र विपद् व्यवस्थापनमा प्रयोग गर्न मिल्ने भएकोले यसले नेपालको क्षमतामा थप बल पुर्याउने अपेक्षा गरिएको छ। नेपाली सेनाले यसलाई एयर एम्बुलेन्सको रूपमा पनि सञ्चालन गर्न सक्ने जनाएको छ।