पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ – किसानलाई प्रत्यक्ष लाभ!

कर्णाली क्षेत्रमा उत्पादन हुने स्याउलाई पहिलोपटक काठमाडौंमा व्यवस्थित रूपमा परिचय गराउन ‘कर्णाली स्याउ उत्सव’ आयोजना गर्न लागिएको छ। आयोजक कर्णाली घरका अध्यक्ष गोविन्द सुनारका अनुसार भदौ २० देखि २२ गतेसम्म काठमाडौंको शंखमूलस्थित कला घरमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।
कला घरको आयोजना र कर्णाली घरको सहआयोजनामा हुन लागेको यस उत्सवमा कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने दर्जनभन्दा बढी प्रजातिका स्याउ प्रदर्शनीमा राखिनेछन्। रेड डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजीलगायत प्रजातिका स्याउसँगै सुकाएको चाना, साइटर, ब्रान्डीजस्ता स्याउजन्य परिकार पनि प्रदर्शनीमा उपलब्ध हुने सुनारले जानकारी दिनुभयो।
आयोजकका अनुसार अवलोकन मात्र नभई उपभोक्ताले प्रत्यक्ष खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ। कर्णालीको स्याउ स्वादका दृष्टिले देशभर परिचित भए पनि यसको बजार खपत बढाउन र ब्रान्डको रूपमा स्थापित गर्न औपचारिक रूपमा यस्तो उत्सव पहिलोपटक आयोजना गरिएको बताइएको छ।
उत्सवमा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि प्रदर्शन गरिनेछ। धामी नाच, हुड्के नाच र मागलजस्ता सांस्कृतिक प्रस्तुतीकरणमार्फत स्याउलाई कर्णालीको सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गरिने आयोजकले जनाएका छन्।
सम्पूर्ण दर्शक र उपभोक्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको यो उत्सवले स्थानीय उत्पादनलाई राजधानीमा पु¥याउँदै किसानलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ। यसले दीर्घकालीन रूपमा कर्णालीको कृषि उत्पादनलाई बजारसँग मजबुत रूपमा जोड्ने एउटा आधार बन्न सक्ने देखिन्छ।