समाचार विदेश

थाइल्याण्ड संकट: संसद विघटन रोकिन्छ, शुक्रबार प्रधानमन्त्रीका लागि मतदान हुने

थाइल्याण्ड संकट: संसद विघटन रोकिन्छ, शुक्रबार प्रधानमन्त्रीका लागि मतदान हुने

थाइल्याण्डमा प्रधानमन्त्रीको पद रिक्त भएपछि उत्पन्न भएको राजनीतिक अनिश्चितताबीच दरबारले संसद् विघटन गर्न सत्तारुढ दलको अनुरोध अस्वीकार गरेको छ। राजपरिषद् सभाको कार्यालयले कार्यवाहक प्रधानमन्त्री फुम्थाम विचायाचाईलाई सूचित गर्दै विवादित कानुनी मुद्दा भइरहेका बेला संसद् विघटनका लागि शाही आदेश ल्याउन अनुपयुक्त ठहरिएको जनाएको हो। विचायाचाईले यसबारे जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

गत शुक्रबार संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रालाई नैतिकता उल्लङ्घन गरेको ठहर गर्दै पदबाट हटाएपछि देशमा नेतृत्व शून्यता देखिएको थियो। यसबीच विपक्षी गठबन्धनले कन्स्ट्रक्सन व्यवसायी तथा राजनीतिज्ञ अनुटिन चार्नभिरकुललाई नयाँ प्रधानमन्त्री बनाउन समर्थन जनाएको छ। प्रक्रिया अघि बढाउँदै संसद्ले शुक्रबार बिहान १० बजे मतदान गर्ने निर्णय गरिसकेको छ।

यसअघि सिनावात्रा नेतृत्वको फेउ थाई पार्टीले संसद् विघटनको प्रस्ताव दरबारमा पेस गर्दै नयाँ प्रधानमन्त्रीको छनोट प्रक्रिया रोकेर पुनः निर्वाचनमा जान खोजेको थियो। तर शाही अधिकारीले उक्त माग नमान्दा अब प्रधानमन्त्री चयनका लागि तय गरिएको मतदान बाधारहित हुने संकेत देखिएको छ।

थाइल्याण्डको हालको राजनीतिक परिस्थितिले संवैधानिक अभ्यास, शाही संरचनाको भूमिका र दलगत समीकरणबारे नयाँ बहस सिर्जना गरेको छ। अब हुने मतदानको परिणामले केवल नेतृत्वको उत्तराधिकारी मात्र तय गर्ने छैन, देशको लोकतान्त्रिक मार्ग कता मोडिने हो भन्ने संकेत पनि दिनेछ।