समाचार

सिंहदरबारमा हलचल: आफ्नै सरकारले जनतालाई दमन गरेको आरोपसहित मन्त्रीको राजीनामा

सिंहदरबारमा हलचल: आफ्नै सरकारले जनतालाई दमन गरेको आरोपसहित मन्त्रीको राजीनामा

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सोमबार पदबाट राजीनामा दिनुभएको छ। धादिङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अधिकारीले सिंहदरबारमा आयोजित कार्यक्रममा लिखित वक्तव्य सार्वजनिक गर्दै आफ्नो राजीनामा घोषणा गर्नुभएको हो।

अधिकारीले वक्तव्यमा लोकतन्त्रमा नागरिकले प्रश्न सोध्ने र शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई राज्यले सम्मान गर्नुको साटो दमन गरेको आरोप लगाउँदै त्यसप्रति गहिरो असन्तोष व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले नैतिक रूपमा क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराउँदछु।”

हालैका दिनमा देशभर बढिरहेका विरोध प्रदर्शन र त्यसक्रममा भएको प्रहरी दमनपछि मन्त्री अधिकारीको राजीनामा राजनीतिक वृत्तमा महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ। यस घटनाले सरकारभित्रको असन्तुष्टि सार्वजनिक रूपमा प्रकट भएको सन्देश दिएको छ, जसको प्रभाव आगामी दिनमा अझै गहिरो रूपमा प्रकट हुने सम्भावना देखिन्छ।