काठमाडौँमा कफ्र्यु, नेप्से समेत ठप्प: लगानीकर्ताको करोडौं डुब्यो!

काठमाडौँ उपत्यकामा सोमबार बिहानैदेखि लागू भएको निषेधाज्ञाले पूँजी बजारसमेत ठप्प भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सो दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिएको जनाएको हो।
नेप्सेका अनुसार उपत्यकाभित्र चक्रपथ क्षेत्रमा कफ्र्यु आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य र लगानीकर्ताबाट कारोबार स्थगनको माग आएको थियो। यसै आधारमा, सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१०) अनुसार बजार बन्द गर्ने निर्णय गरिएको हो।
नेप्सेले उल्लेख गरेअनुसार, सुरक्षात्मक कारण र व्यावहारिक कठिनाइलाई ध्यानमा राख्दै कारोबार रोक्नु अपरिहार्य बनेको हो। यसले तत्कालका लागि लगानीकर्ताको हित जोगिने विश्वास नेप्सेले व्यक्त गरेको छ।
अर्थतन्त्रका संवेदनशील क्षेत्रमा पर्ने पूँजी बजार लामो समय स्थिर राख्न सकिँदैन, तर असामान्य परिस्थितिमा अपनाइने यस्तो कदमलाई व्यवस्थापकीय आवश्यकता मानिएको छ। अब बजार कहिले खुल्ने भन्ने विषय परिस्थिति सामान्यीकरणसँगै नेप्सेले घोषणा गर्ने जनाएको छ।