आन्दोलनबारे संयुक्त राष्ट्रसंघको आह्वान: शान्तिपूर्ण समाधान र निष्पक्ष छानबिनमा जोड

संयुक्त राष्ट्रसंघ (यूएन)ले नेपालमा भइरहेको युवाको आन्दोलनबारे औपचारिक प्रतिक्रिया दिँदै शान्तिपूर्ण समाधानको आवश्यकता औंल्याएको छ। नेपालस्थित यूएन कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै युवाहरूका माग सम्बोधन गर्न संवादमार्फत अघि बढ्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसंघ नेपालमा संवाद र विश्वास निर्माणका प्रयासहरूलाई सहयोग गर्न तत्पर छ, जसले तनाव कम गर्न र शान्तिपूर्ण समाधानमार्फत समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउनेछ।”
यूएनले राज्य पक्ष र आन्दोलनकारी दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ। प्रदर्शनकारीको मौलिक अधिकारलाई सम्मान गर्दै शान्तिपूर्ण ढंगले आवाज उठाउनुपर्ने उल्लेख गर्दै उसले हिंसात्मक गतिविधिबाट टाढा रहन सुझाव दिएको छ। यस्तै, अत्यधिक शक्ति प्रयोगका घटनाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्नेमा पनि उसले जोड दिएको छ।
संयुक्त राष्ट्रसंघले कानुन कार्यान्वयनका क्रममा अन्तर्राष्ट्रिय मानवीय कानुनहरूको मान्यता र मापदण्डको ख्याल राख्न राज्यका निकायहरूलाई सचेत गराएको छ।
राजनीतिक अस्थिरता र आन्दोलनले देशको शान्ति प्रक्रियामा थप चुनौती सिर्जना गरेको सन्दर्भमा आएको यूएनको यो आह्वानले नेपालभित्रको संवाद र सहमतिको आवश्यकता झन् प्रस्ट पारेको देखिन्छ।