थियानजिन शिखर सम्मेलनमा ‘Henan Nepal’ नामप्लेटबारे उठेको बहस

चीनको थियानजिनमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको अगाडि राखिएको नामप्लेटमा “Henan Nepal” लेखिएको तस्बिर सार्वजनिक भएपछि नेपालभित्र व्यापक बहस सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलमा यो दृश्य प्रकट भएपछि चीनको तीक्ष्ण शक्ति (Sharp Power), नेपालको सार्वभौमिकता र सम्भावित कूटनीतिक संकेतबारे चर्को विवाद भएको छ।
वरिष्ठ पत्रकार जिब्रम भण्डारीले सामाजिक सञ्जालमा पहिलोपटक प्रश्न उठाउँदै लेखेका छन्:
“यो Henan Nepal भनेको कहाँ रहेछ? के रहेछ? मैले अलि नबुझेर सरोकारवालाबाट जानकारी चाहेको। यसकारण कि यो फोटो प्रधानमन्त्रीकै सचिवालयबाट प्रसारण र प्रकाशनका लागि प्रेषित गरिएको हुनाले थप सोधनी गरेको। तस्बिरमा प्रधानमन्त्री ओलीको अगाडि ‘Henan Nepal’ नामप्लेट देखिन्छ, दायाँ-बायाँ पूर्णबहादुर खड्का (कांग्रेस उपसभापति) र रघुजी पन्त (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, एमाले) देखिन्छन् भने पछाडिको पंक्तिमा करिब २७ जना नेपाली टोली पनि स्पष्ट देखिन्छ।”
यस पोस्टपछि सामाजिक सञ्जालमा प्रतिक्रियाहरूको वर्षा भयो। केहीले यो शब्दलाई चीनको प्रान्तसँग जोडेर व्याख्या गरे भने केहीले रसियन लिपि भएको दाबी गरे।
शरद शर्माले लेखे, “Henan भनेको चीनको प्रान्त हो।”
सन्तोषप्रकाश पन्तले भने, “Henan चीनकै प्रान्त हो, राजधानी झेङ्झाउ हो, यसमा आश्चर्य मान्नुपर्ने केही छैन।”
बिष्टा नरेन्द्रले थपे, “河南省, जसलाई ‘हेनान’ भनिन्छ, चीनको मध्य भागमा रहेको ऐतिहासिक प्रान्त हो।”
तर केहीले भने नामप्लेटमा देखिएको शब्दलाई रसियन भाषा भएको दाबी गरे। केएम सिंहले लेखे, “यो Henan होइन, रसियन लिपिमा नेपाललाई ‘Непал’ भनेर लेखिन्छ।”
कृष्ण कन्डेलले भने, “नामप्लेटमा पहिलो चिनियाँ, दोस्रो रसियन र तेस्रो अंग्रेजी प्रयोग भएको छ।”
त्यसैगरी, रामशरण बस्नेतले टिप्पणी गरे, “रसियन भाषामा नेपाललाई Henan भनिन्छ।”
यस घटनाले भने नेपालको भू-राजनीतिक संवेदनशीलतालाई पुनः सतहमा ल्याएको छ। कतिपय विश्लेषकहरूले यसलाई चीनको कूटनीतिक संकेतर माओ जेडोङको पाँच औंला नीतिसँग जोडेर व्याख्या गरेका छन्। यस नीतिअनुसार, तिब्बतलाई हातको ताली र नेपाल, भूटान, सिक्किम, लद्दाख र अरुणाचल प्रदेशलाई पाँच औंलाका रूपमा लिइन्छ, जसलाई चीन आफ्नो स्वाभाविक प्रभावक्षेत्र ठान्ने गरेको छ।
सामाजिक सञ्जालमा बहस अझै चर्किरहेको छ। केहीले यसलाई “नेपालको सार्वभौमिकतामाथि प्रतीकात्मक मिसाइल प्रहार” भनेका छन् भने अरूले यसलाई चीनको सॉफ्ट-इन्क्लुजन रणनीतिको हिस्सा ठानिरहेका छन्। अर्कोतर्फ, केही प्रयोगकर्ताहरूले भने यसलाई प्रशासनिक त्रुटि मान्दै अनावश्यक विवाद नगर्नुपर्ने धारणा राखेका छन्।
भारतका केही सामरिक विश्लेषकहरूले यस घटनालाई चीनको रणनीतिक संकेतको रूपमा लिएका छन्। उनीहरूको भनाइमा, यदि माओको पाँच औंला नीति पुनः सक्रिय भयो भने, यसले केवल नेपाल मात्र होइन, भारतको उत्तरी सीमामा पनि नयाँ भू-राजनीतिक तनाव निम्त्याउन सक्छ।
नेपाल सरकार र विदेश मन्त्रालयले यसबारे हालसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन्। नेपालआजले सम्पर्क गर्दा मन्त्रालयका एक वरिष्ठ अधिकारीले छोटो जवाफ दिए:
“विवरण संकलन भइरहेको छ।”
नेपाल-चीन सम्बन्ध अहिले अत्यन्त संवेदनशील मोडमा पुगेको छ। आर्थिक सहयोग, पूर्वाधार लगानी र राजनीतिक सहकार्यको नाममा चीनको प्रभाव तीव्र रूपमा बढ्दै जाँदा, यस्तो घटनाले नेपालको पहिचान, स्वाधीनता र भू-राजनीतिक स्थानबारे गम्भीर प्रश्न उठाएको छ।
अब ठूलो प्रश्न यही हो —
यो केवल प्रशासनिक त्रुटि हो कि चीनको तीक्ष्ण शक्तिको प्रतीकात्मक प्रदर्शन?