स्वास्थ्य

‘क्याफेमा रक्सी, चुरोट र गाँजा वेच्न राखियो भने अन्यथा मान्नु पर्दैन’

‘क्याफेमा रक्सी, चुरोट र गाँजा वेच्न राखियो भने अन्यथा मान्नु पर्दैन’

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका पूर्व अध्यक्ष डा. प्रकाशराज रेग्मी सहितको टोलीले ०७८ कात्तिक १५ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नसर्ने रोग सम्बन्धी नीति तथा कार्यक्रममा स्वास्थ्यका लागि अति हानिकारक चिल्लो पदार्थ ट्रान्सफ्याट नियन्त्रणका प्रावधानहरू समावेश गर्न ९ बुँदे सुझाव बुझायो।

विश्व स्वास्थ्य सङ्घले सन ०२३ सम्ममा विश्व बजारमा उपलब्ध गराइने खानाहरू कारखानामा उत्पादित ट्रान्सफ्याटयुक्त तेलरहित बनाउने विस्तृत योजना सार्वजनिक गरेको र सङ्घले सार्वजनिक गरेको योजनका आधारमा प्रतिष्ठानले ९ बुँदे सुझाव पेस गरेको थियो।

विश्वमा ट्रान्सफ्याटका कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्क घात वृद्धि हुन थालेको तथ्य सन २००१ मा नै सार्वजनिक भएको हो। ट्रान्सफ्याटयुक्त वनस्पति घिउ र तेल तथा यस्ता घिउ तेल प्रयोग गरिएका तयारी खानाको उत्पादन र उपभोग कम गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिने गरेका छन् । 

२ प्रतिशतभन्दा बढी ट्रान्सफ्याट भएका खाद्यवस्तुमा प्रतिबन्ध लगाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । तर, नेपालमा भने यस विषयमा सरोकारवालाको ‘कानमा हावा’ लागेको छैन। बाँसवारी स्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले केही समय अगाडि सार्वजनिक गरेको प्रतिवेदनमा पनि बर्सेनी यो रोग ३ देखि ४ प्रतिशतका दरले बढेको उल्लेख छ 

केन्द्रमा प्रत्येक दिन ५ सयदेखि ६ सय जनासम्म उपचारका लागि आउँछन्। तथ्यांकअनुसार एक दशकमा १० प्रतिशतले यस्ता बिरामी बढेका छन् भने राजधानीमा यो रोग दोब्बर वृद्धि भएको छ। विश्वमा १ करोड ७० लाख मानिसको मृत्यु मुटुसम्बन्धी रोगले हुन्छ । सन् २०३० सम्ममा यो संख्या २ करोड ३० लाख पुग्ने अनुमान गरिएको छ ।

चिकित्सकका अनुसार आधुनिक जीवनशैली, चिल्लो, चुरोट, रक्सी खानेजस्ता कारण नेपालमा मुटुरोगी बढ्दै गएका छन् । घरको खानाको सट्टा बजारमा पाइने फास्टफुड खाने चलन बढेको छ। घरमै पनि यस्ता खोनकुराको प्रयोग वढेको छ।

सन्तुलित भोजन, नियमित व्यायाम, रक्सी–चुरोट नखाने, नियमित स्वास्थ्य परीक्षण गर्ने, तनाव नलिने र दैनिक कम्तीमा आधा घण्टा छिटो–छिटो हिंड्नाले हृदयाघातको जोखिमबाट बच्न सकिने चिकिसत्सक बताउँछन्।

तर, हृदय रोगको उपचार गराउने अस्पतालहरुमै यस्ता विषयमा खेलाँची गरेको पाईन्छ। मुखले एउटा कुरा गर्ने र ब्यवहारमा अर्कै गर्ने गरिएका कारण अस्पतालमै विरामी हुनेको संख्या वढ्ने गरेको छ। यसको सवैभन्दा राम्रो उदाहरण पनि शहिद गंगालाल हृदयरोग केन्द्र नै हो। केन्द्रको हरियो भनको लवि (प्रतिक्षालय)मा छिर्ने बित्तिकै दायाँ–बायाँ काउन्टर  छन। बायाँ पटी ल्याब, रेडियोलोजी विभाग  र सानो क्याफे छ। दायाँतर्फ फार्मेसी, सिधा अगाडी लिफ्ट र वार्ड छन्। 

अस्पतालको क्याफे भने गज्जबको छ। यहाँ कोकाकोला, बेकरीका परिकार, समोसा, आलुचिप्स, कुरकुरे, करेन्ट चाउचाउ, पोटेटो क्रेकर्स, चिजबल, चाउचाउ, बिस्कुट पाईन्छ। crispy chicken burger with soft buns and ketchup र मोःमोः को स्टिकर देख्दा लाग्छ, त्यहाँको लोकप्रिय खाना नै त्यही हो। चिया, कफी त पाउने नै भयो।

यि सबै खानेकुरा स्वस्थ हृदयका निम्ति हानिकारक (विष समान) छन्। अस्पतालका चिकित्सकहरु पनि यस्ता खानेकुरा नखानु भन्छन्। तर, सोही अस्पतालमा चलिरहेको क्याफेमा भने हृदयलाई अस्वस्थ वनाउने खानेकुरा मात्रै वेच्न राखिएको छ। यस्तै अवस्था रह्यो भने केही दिनपछि अस्पतालको क्याफेमा रक्सी, चुरोट र गाँजा वेच्न राखियो भने अन्यथा नहुने विरामीहरु वताउँछन्। ‘डाक्टरका कुरा सुन्दा जुन चिज खाएर बिरामी भईयो, अस्पतालमा पनि त्यही चिज नखाई अर्को उपाय छैन’ उनीहरु भन्छन्–‘इलाज गराउँन आउने मान्छे थप विरामी भएर पो फर्किएला जस्तो छ।’