समाचार

भारतले नेपाललाई दशवटा स्टील पुल हस्तान्तरण, बाढी-पहिरो पीडितलाई २५ टन राहत सामग्री सहयोग

भारतले नेपाललाई दशवटा स्टील पुल हस्तान्तरण, बाढी-पहिरो पीडितलाई २५ टन राहत सामग्री सहयोग

काठमाडौं – भारतीय राजदूतावासले आज नेपाललाई दशवटा प्रिफ्याब्रिकेटेड स्टील पुलका पार्टपुर्जा हस्तान्तरण गरेको छ। यी पुलहरु नेपालमा हालैको बाढी र पहिरोका कारण अवरुद्ध सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न सहयोग गर्ने उद्देश्यले प्रदान गरिएको हो। नेपाल सरकारको अनुरोधमा भारतले नेरु ३८ करोडभन्दा बढी मूल्यका यी पुलहरु अनुदानको रूपमा दिएको छ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुसाललाई पुलका सामान हस्तान्तरण गर्नुभयो। यी पुलहरु बाढीपहिरोबाट क्षतिग्रस्त सडकलाई पुन: सुचारु गर्न महत्त्वपूर्ण मानिएका छन्। प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरु पनि छिट्टै नेपाललाई उपलब्ध गराइनेछ।

यससँगै, भारत सरकारले पछिल्लो दुई दिनमा नेपालका बाढी र पहिरो पीडित परिवारलाई २५ टनभन्दा बढी मानवीय सहयोग सामग्री उपलब्ध गराएको छ। यसमा अत्यावश्यक सरसफाई सामग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट, र पानीका बोतलहरु समावेश छन्।

भारत सरकारले नेपालको आवश्यकता अनुसार राहत सामग्री र पुनर्निर्माण प्रयासमा सधैं सहयोग गर्न प्रतिबद्ध रहेको भारतीय राजदूतावासले जनाएको छ।