समाचार

डाक्नेश्वरी नगरपालिकामा मेयरको फाइदाका लागि स्रोत साधनको दुरुपयोग

डाक्नेश्वरी नगरपालिकामा मेयरको फाइदाका लागि स्रोत साधनको दुरुपयोग

राजविराज, सप्तरी — डाक्नेश्वरी नगरपालिकामा स्रोत साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ। नगर प्रमुख रामलखन मलाहले नगरपालिकाका दुईवटा गाडी हुँदा हुँदै पनि तेस्रो गाडी भाडामा लिएर स्रोतको दुरुपयोग गरेको आरोप लागेको छ।

नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको प्रयोगका लागि खरिद गरेका दुईवटा गाडी हुँदा पनि, नगर प्रमुख मलाहले हालै डाक्नेश्वरी नगरपालिका वडा नम्बर–८ का पनालाल पंडितको नाममा रहेको मधेश प्रदेश–६००१ च–००२४ नम्बरको गाडी मासिक रु १ लाख ५ हजारमा भाडामा लिएका हुन्। सो गाडी चलाउन नगरपालिकाकै स्रोतबाट चालकसमेत नियुक्त गरिएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका डाक्नेश्वरी उपाध्यक्ष ओमप्रकाश यादवले नगर प्रमुखले स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाएका छन्। उनले यसअघि पनि नगरपालिकाको ५०९ नम्बरको गाडी मर्मत गर्न रु १५ लाख खर्चिएको तर गाडीलाई अलपत्र अवस्थामा राखेको बताए। "मेयर मलाहले आफ्नो सुविधाको लागि मात्र गाडी प्रयोग गरिरहेका छन्," यादवले भने, "रु १५ लाखमा मर्मत गरिएको गाडी अलपत्र छ भने अर्को रु ७७ लाखमा किनेको गाडी पनि थन्काइएको छ।"

गाडीको रहस्य

स्थानीयहरूका अनुसार नगर प्रमुख मलाहले भाडामा लिएको गाडी वास्तवमा उनकै हो। जसपा उपाध्यक्ष यादवले मलाहले आफ्नो नजिकका मित्र पनालाल पंडितको नाममा गाडी खरिद गरी भाडामा लगाएको आरोप लगाएका छन्। यादवका अनुसार मलाहले मिर्चैयाका एक व्यापारीसँग रु २८ लाखमा गाडी खरिद गरेका थिए।

यस विषयमा प्रतिक्रिया माग्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले नगरपालिकामा भएका दुईवटा गाडी मध्ये एउटा काम नलाग्ने अवस्थामा रहेकाले तेस्रो गाडी भाडामा लिनु परेको बताए। जब उनलाई सोधियो कि किन मलाहकै नजिकको व्यक्तिबाट गाडी भाडामा लिइयो, उनले गाडी मेयरको नभएको र पनालाल पंडितसँग सम्झौता गरिएको बताएका छन्।

यता, नगर प्रमुख मलाहले नगरपालिकाका गाडी काम नलाग्ने भएकाले भाडामा लिएको र आफूमाथि लगाइएका आरोपहरू निराधार भएको बताए। "नगरपालिकाले गाडी भाडामा लिएको हो तर त्यो मेरो गाडी होइन," उनले भने, "चुनाव जितेको नपचेकाहरूले झुटा आरोप लगाइरहेका छन्।"

स्रोत साधनको दुरुपयोग र भ्रष्टाचारको आरोप

नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी र जिल्ला इन्चार्ज सुनराज प्याकुरेलले नगर प्रमुख मलाहको सहयोगमा पशुशाखा अधिकृत रामकिसुन यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको आरोप लगाइएको छ। स्थानियहरूले चौधरी र प्याकुरेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रयोग गरेर नगरपालिकामा स्रोत साधनको दुरुपयोग गर्न भूमिका खेलेको बताएका छन्।

प्याकुरेल र चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि दर्ता भएको छ। उनीहरू पालिकाको स्रोत साधन पटक-पटक प्रयोग गरिरहेको आरोप छ। यसैबीच, नगर प्रमुख मलाहले भाडामा लिएको गाडीको कागजात बनाउन नमान्दा प्रशासन शाखाका कृष्णा यादवलाई जिम्मेवारीबाट हटाइएको थियो।

निमित्त प्रमुखमाथि मेयरको दबाब

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको दबाबमा काम गर्नुपर्ने बाध्यता रहेको पालिकाका कर्मचारीहरूले बताएका छन्। मेयरका निर्देशन नमानेमा जिम्मेवारीबाट हटाइने डरले उनीहरू मेयरको निर्देशन मान्न बाध्य छन्। एक अधिकारीले भने, "नयाँ अधिकृत वा उपसचिव ल्याउने खतरा भएकोले हाकिमहरू मेयरको कुरा मान्नुपर्ने बाध्यतामा छन्।"