समाचार

प्रधानमन्त्री ओलीको कडा चेतावनी: नेपालमा चीनविरोधी गतिविधि रोक्न कटिबद्ध!

प्रधानमन्त्री ओलीको कडा चेतावनी: नेपालमा चीनविरोधी गतिविधि रोक्न कटिबद्ध!

प्रधानमन्त्री के.पी. शर्मा ओलीले आइतवार, अक्टोबर २० मा नेपालले कुनै पनि चीनविरोधी गतिविधि आफ्नो भूमिमा अनुमति नदिने स्पष्ट रूपमा बताए। चीनसँगको 'एक चीन' नीतिप्रतिको नेपालको दृढ प्रतिबद्धता पुनः पुष्टि गर्दै उनले यो वक्तव्य गरे। बालुवाटारस्थित आफ्नो सरकारी निवासमा चीनको कम्युनिस्ट पार्टी (सीपीसी) का केन्द्रीय समितिका सदस्य चेन जिनिङ नेतृत्वको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटघाटमा ओलीले यो भनाइ राखेका हुन्।

ओलीले नेपालले चीनको 'एक चीन' नीतिलाई पूर्ण समर्थन गर्ने कुरा दोहोर्‍याउँदै नेपालभित्र कुनै पनि चीनविरोधी गतिविधि सञ्चालन गर्न नदिने बताएका छन्। चीनले ताइवानलाई आफ्नो भूभागको अभिन्न हिस्सा भएको दाबी गर्दै आएको छ र चीनसँग कूटनीतिक सम्बन्ध राख्न चाहने सबै देशहरूले 'एक चीन' नीतिलाई पालना गर्नुपर्ने नियम लागू गरेको छ, जसले ताइवानलाई चीनको भागको रूपमा मान्यता दिन्छ।

चीनले विशेष गरी तिब्बत र ताइवानजस्ता विषयमा देखिने पृथकतावादी गतिविधिहरूप्रति संवेदनशील रहँदै आएको छ। नेपालको उत्तरी भागमा चीनको तिब्बत क्षेत्रसँगको सिमाना रहेकोले चीनले नेपालमाथि त्यस्ता गतिविधि रोक्न निरन्तर कूटनीतिक दबाब दिँदै आएको छ। ओलीले कुनै पनि चीनविरोधी गतिविधि सह्य नहुने कुरा प्रष्ट पार्दै, नेपालले चीनको संवेदनशीलताप्रति सम्मान दर्शाउने प्रतिवद्धता जनाएका छन्।

भेटघाटमा ओलीले नेपालमा चीनको आर्थिक सहयोग, विशेष गरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूमा निरन्तर सहयोगको आशा व्यक्त गरेका थिए। साथै, ओलीले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानलाई निरन्तर राख्नु पर्नेमा जोड दिँदै सरकारी तथा जनस्तरका सम्बन्धहरू अझ बलियो बनाउन महत्त्वपूर्ण रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले चिनियाँ नेतृत्व, विशेष गरी राष्ट्रपति सी जिनपिङको गरिबी निवारण र समग्र विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै, चीनको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताएका छन्। साथै, नेपालमा हालै बनेको नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थिरता ल्याउने उद्देश्य राखेको कुरा पनि उनले चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए।

चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख चेन जिनिङले नेपालको समृद्धि र खुसीका लागि चीनको निरन्तर समर्थन रहने प्रतिज्ञा गर्दै, चीनले नेपालको आन्तरिक निर्णयहरूलाई सधैं सम्मान गर्ने बताएका छन्।

यो बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, र नेपालका लागि चिनियाँ राजदूत चेन सङ समेत सहभागी थिए।