रवि र न्युज २४ टिभीले जिबी राईलाई धम्की दिए, पत्र मिडियामा सार्वजनिक
सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई बेपत्ता छन्। सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएसँगै देश छोडेर भागेका उनले विरुद्ध प्रहरीले डिफ्युजन नोटिससमेत जारी गरेको छ।
देशका प्रमुख शहरमा ‘स’बाट उच्चारण शुरु हुने नामका आधा दर्जन सहकारी संस्था खोलेर गोर्खा मिडिया नेटवर्क प्रालि लगायतका दर्जनौँ निजी कम्पनीमा गैरकानुनी तवरले पैसा पुर्याएको अभियोग राईमाथि छ। संसदीय छानविन विशेष समितिले उनीमाथि कारवाहीका लागि सरकारलाई सिफारिस गरेको छ। तर, हजारौँ बचतकर्ताको अर्बौं रकम घोटाला गरेर भागेका राई कहाँ छन्, प्रहरीले समेत बताउन सकेको छैन।
केही समय अघिसम्म मलेसियामा रहेको अनुमान गरिएका जिबीलाई खोज्न सरकारले नेपालबाट प्रहरीको एक टोलीसमेत पठाएको थियो। तर टोली रित्तो हात फर्कियो। यसअघि जिबीको तत्कालिन पार्टनर रवि लामिछाने गृहमन्त्री हुँदा 'जिबी राईको लोकेसन पत्ता लाग्यो' भन्दै मलेसियामा रहेको बताएका थिए।
यसैबीच, जिबी राईका तर्फबाट जनआस्थालाई इमेलमार्फत एउटा पत्र प्राप्त भएको छ। पत्रमा नेपाल आएर अनुसन्धानमा सघाउन र बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको व्यहोरामा सुरक्षाको व्यवस्था मिलाइदिन राज्यसँग आग्रह गरिएको छ।
पत्रको सामग्री यसप्रकार छ:
"नमस्ते, म जिबी राईको तर्फबाट प्रेषित सन्देश। अहिले सहकारीको विषयमा भएको अनुसन्धानले मलाई खुशी पार्दैछ। सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु। त्यो वातावरण बनाउनका लागि कृपया सहकार्य गरिदिनुहोस्, जुन कुरा संसदीय समितिलाई पनि मैले सन्देश पठाएको थिएँ।
म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु। त्यो वातावरण राज्यले बनाइदिनुहोस्। अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ। मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्र हो।
लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरूलाई पैसा बुझाएर बसेको छु। यसतर्फ पनि अनुसन्धान गरियोस्। मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब, धम्की सबै दिएका हुन्। म गत वर्ष नै अनुसन्धानमा सघाउन नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए। आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी राखेको हुँ।
शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन्। त्यसपछि उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ। याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस्, हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ।
टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले। केहीपछि तपाईंलाई गार्हो हुन्छ, मेरो नाम पनि जोडिन्छ, टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए। मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए। त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ। पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधैँ पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे।
जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ। मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे। र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन्।
उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए। मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ। पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे। बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ।
उनले दिपक बोहरामार्फत केस अगाडि जाँदैन, तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने/तर्साउने गरे। अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ। उनलाई उन्मुक्ती नदिइयोस्। उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु। राज्यले सहयोग गरोस्! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु।"
(इमेलबाट प्राप्त प्रस्तुत पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षसँग बुझ्ने काम भैरहेको छ।)