समाचार

कतारका अरबपति नेपालमा ठूला लगानीको खोजीमा: के नेपालमा आउँदैछ लगानीको सुनामी?

कतारका अरबपति नेपालमा ठूला लगानीको खोजीमा: के नेपालमा आउँदैछ लगानीको सुनामी?

कतारी लगानीकर्ताहरू नेपाललाई श्रमिक गन्तव्य मात्र होइन, लगानीको आकर्षक क्षेत्रका रूपमा पनि हेर्दैछन्।

नेपालमा कतारी लगानीकर्ताहरूले सूचना प्रविधि, औषधि उद्योग, बैङ्क तथा वित्तीय सेवा, जलविद्युत, र पर्यटन जस्ता क्षेत्रहरूमा विशेष चासो देखाएका छन्। कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहम्मद अल थानीले भने, "यहाँका लगानीकर्ता नेपालमा लगानीका अवसर खोजिरहेका छन्। हामी थप लगानीकर्ताहरूलाई पनि यसतर्फ प्रोत्साहित गर्नेछौँ।"

नेपाल–कतार व्यापार परिषद्को पहिलो उच्चस्तरीय वैठक कतारको राजधानी दोहामा बुधवार सम्पन्न भयो, जसमा अध्यक्ष थानी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो।

गत अप्रिल २३ र २४ मा कतारी अमिर शेख तमीम बिन हमाद अल थानीको नेपाल भ्रमणको क्रममा महासंघ र कतार चेम्बरबीच व्यापार परिषद् स्थापना गर्ने सहमतिपछि यो वैठक सम्पन्न भएको हो। पहिलो वैठकमा अध्यक्ष ढकाल र थानीले आ–आफ्नो नेतृत्वमा परिषद्का सदस्य नियुक्त गरी छिट्टै परिषद्लाई पूर्णता दिने सहमति गरे। अध्यक्ष ढकालले आगामी वर्ष नेपालमा कतार–नेपाल व्यापार सम्मेलन आयोजना गर्ने प्रस्ताव राखे, जसमा दुबै पक्षको सहमति पनि जुट्यो।

वैठकमा अध्यक्ष ढकालले नेपालमा स्थायित्व रहेको र कानुनमा सुधार गरिएकोले लगानीका अवसरहरू थप आकर्षक बन्दै गएको बताए। उनले कतारी लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र सीप विकास जस्ता क्षेत्रमा पर्याप्त सम्भावना रहेको भन्दै लगानीका लागि आह्वान गरे।

यसका अतिरिक्त, ढकालले कतारी सरकारले आयोजना गरेको एसियन कोअपरेसन डाइलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता जनाए।