समाचार

बाढीको बीचमा स्टण्टबाजी! तोसिमा कार्कीको फोटो सेसनले निम्त्यायो चौतर्फी आलोचना!

बाढीको बीचमा स्टण्टबाजी! तोसिमा कार्कीको फोटो सेसनले निम्त्यायो चौतर्फी आलोचना!

नेपाली समाजमा एउटा प्रसिद्ध उखान छ, ‘काम गर्ने कालु, मकै खाने भालु।’ यो उखान अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुको गतिविधिसँग ठ्याक्कै मेल खाएको देखिन्छ। हालै रास्वपा नेतृ डा. तोसिमा कार्की फेरी विवादमा तानिएकी छिन्, उनीमाथि संकटका बेला ‘स्टण्टबाजी’ देखाएर पब्लिसिटी गर्ने आरोप लागेको छ। 

गत बिहीबार रातिदेखि परेको अविरल वर्षाले राजधानी काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा ठूलो क्षति पुर्यायो। बाढीले भौतिक संरचना ध्वस्त हुँदा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ। यस्तो विपद्को बेलामा सरकारको उद्धारकार्य समेत प्रभावकारी देखिएन, जसको व्यापक आलोचना भइरहेको छ। खासगरी शनिबार ललितपुरको नख्खु खोलामा आएको बाढीमा चार जना फसेका व्यक्तिहरूको उद्धार गर्न सरकारी निकाय असफल भएपछि स्थानीय चणिकलाल तामाङ्गले दुई जनाको ज्यान बचाए। तर, यो साहसिक कार्यको साटो सांसद तोसिमा कार्कीले बाढी पीडितहरूको अस्पतालमा गएर फोटो खिचेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो। 

उनको यो कदमले धेरैको आलोचना आकर्षित गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई 'चटकबाज' भनेर टिप्पणी गरेका छन्, यो बेला पनि पब्लिसिटीको लागि फोटो खिच्ने कार्यले उनको आलोचना थप बलियो बनाएको छ। यसअघि पनि उनले कीर्तिपुर अस्पतालमा यसै किसिमको विवादित कार्य गरेकी थिइन्। 

यस्तै, अर्को एक दुःखद घटना २०२३ को जनवरी २४ मा संसद भवन अगाडि भएको थियो, जहाँ प्रेमप्रसाद आचार्यले आत्मदाह गरे। तत्कालीन स्वास्थ्यमन्त्री तोसिमा कार्कीले उनको मृत्युको केही समयअघि अस्पतालमा उनको अन्तिम समयको भिडियो बनाएको थियो, जसले ठूलो सामाजिक बहस सिर्जना गर्यो। 

यस्ता घटनाहरुले डा. कार्कीको भूमिकालाई विवादित बनाउँदै लगेको छ, जहाँ उनले संकटका समयमा आफ्नो जिम्मेवारीभन्दा बढी पब्लिसिटीमा ध्यान दिएकी देखिन्छिन्।