समाचार

भारतीय मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

भारतीय मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स, छ दिने औपचारिक भ्रमणका लागि मिति २०८१ आश्विन १४ गते काठमाडौं आइपुग्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यमले उहाँलाई स्वागत गर्नुभयो।

भ्रमणका क्रममा जनरल देवगनले पोखरामा आयोजना गरिएको भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गर्नुभयो। साथै, उहाँले नेपालमा रहेको भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको निरीक्षण गर्नुभयो र यस योजनालाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

जनरल देवगनले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा भेट गरी दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्न र सैनिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गर्नुभयो।

मेजर जनरल देवगनले मिति २०८१ आश्विन १९ गते नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। उहाँले द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने प्रयासका लागि भारतीय राजदूतावासको रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गर्दै भ्रमणको समापन गर्नुभयो।