समाचार

डाक्नेश्वरीमा मेयरले आफ्नै ज्वाईलाई जागिर दिन गरेको खेल खुलासा! ४ लाखसम्मको घुसको आरोप!

डाक्नेश्वरीमा मेयरले आफ्नै ज्वाईलाई जागिर दिन गरेको खेल खुलासा! ४ लाखसम्मको घुसको आरोप!

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा सत्ता र शक्तिको दुरुपयोग गर्दै कर्मचारी नियुक्तिमा चलखेल भएको छ। नगर प्रमुख रामलखन मलाहले आफ्ना ज्वाईलाई रोजगार संयोजक पदमा नियुक्त गराउन खोज्दा कर्मचारीहरूको विरोध सामना गर्नु परेको छ। प्रमुख प्रशासकीय अधिकृत उमेश प्रसाद साहले यो नियुक्तिमा सहमति जनाउन अस्वीकार गरेपछि उनलाई हटाई शिक्षा शाखा प्रमुख कृष्ण कुमार यादवलाई नियुक्त गरिएको छ।

नगरपालिकाले २०८० सालको चैत्रमा विभिन्न पदका लागि विज्ञापन जारी गरेको थियो, तर जनप्रतिनिधिहरूले कर्मचारी नियुक्तिमा आपसी बाँडफाँड गर्ने प्रयास गरेपछि विवाद उत्पन्न भएको हो। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले पनि जनप्रतिनिधिहरूका आफन्तलाई नियुक्त गर्न अस्वीकार गरेका थिए, जसका कारण उनलाई हटाई पशु अधिकृत रामकिसुन यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।

मेयर मलाहले नगरपालिका कार्यपालिकामा आफन्तहरूलाई प्राथमिकता दिँदै आफ्नो छोरीका ज्वाई धर्मदेव मुखियालाई रोजगार संयोजक पदमा, सकलदेव मंडल र बलराम साहलाई कम्प्युटर अपरेटरमा, ममता यादवलाई अहेव, पंकज यादवलाई सहायक कम्प्युटर अपरेटर पदमा नियुक्त गर्ने योजना बनाएका छन्। यस्तै, खेलकुद प्रशिक्षक पदमा जीवन चौधरी र रोजगार सहायकमा कृपानन्द झालाई नियुक्त गर्ने तयारी भएको छ।

स्थानीयहरूले मेयर मलाहमाथि २ देखि ४ लाखसम्म घुस लिएको आरोप लगाएका छन्। नगरप्रमुखले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेकपा एमालेका जिल्ला नेताहरूको आडमा यो नियुक्ति प्रक्रिया अघि बढाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मेयर मलाह र एमालेका जिल्ला नेताहरू विरुद्ध उजुरी दर्ता भएको छ।

तर, नगर प्रमुख मलाहले यस विषयमा प्रतिकिया दिन अस्वीकार गरेका छन् भने निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले नियुक्तिमा विवाद भएको स्वीकार्दै श्रेणीविहीन कर्मचारी मात्र नियुक्त गर्न सकिने बताएका छन्।