समाचार

नेपाल-भारत मिल्लत परिषद्को बाढी पहिरो पीडितलाई सहयोग वितरण

नेपाल-भारत मिल्लत परिषद्को बाढी पहिरो पीडितलाई सहयोग वितरण

गोदावरी, असोज २३ - नेपाल-भारत मिल्लत परिषद् केन्द्रले गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवका बाढी पहिरो पीडित परिवारलाई आज राहत सामग्री वितरण गरेको छ। परिषद्का अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा राहत वितरण सम्पन्न गरिएको हो।

सहयोग कार्यक्रममा १०० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न, जस्तापाता, ओढ्ने-ओछ्याउने लगायतका सामग्रीहरू प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिनिधि सभाका सदस्य उदय शम्शेर जबरा, बागमती प्रदेशका खेलकूद मन्त्री मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, स्थानीय जनप्रतिनिधि र समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

परिषद्का अध्यक्ष मियाँले विपदमा परेकाहरूलाई सहयोग गर्नु मानवताको सर्वोत्तम पक्ष भएको बताउँदै, बाढी पहिरो पीडितको उद्दार र राहत कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले सरकारलाई तत्काल राहत र उद्धारका कार्यक्रम अघि बढाउन पनि आग्रह गर्नुभयो।

बागमती प्रदेशका खेलकूद मन्त्री महर्जनले परिषदले सामाजिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै यस्तो मानवीय सहयोगले पीडित समुदायलाई राहत मिलेको बताउनुभयो।

२०८१ साल असोज ११ र १२ गतेको बाढी पहिरोका कारण गोदावारी नगरपालिकामा ५ जनाको मृत्यु हुनुका साथै सय भन्दा बढी परिवार विस्थापित भएका थिए। नेपाल-भारत मिल्लत परिषद्ले विगतमा पनि महाभूकम्प, कोरोना महामारी, बाढी पहिरो, आगलागी जस्ता विपदका समयमा गरिब र पीडित समुदायलाई सहयोग गर्दै आएको छ। रमजान लगायतका चाडपर्वमा गरिब परिवारलाई राहत वितरण गरेर पनि परिषद्ले समुदायमा सकारात्मक प्रभाव छोड्दै आएको छ।