समाचार

काठमाडौं महानगर कार्यालयमा सञ्चार प्रतिबन्ध: भ्रष्टाचारको खबरले तनाव र असन्तुष्टि थपिदियो

काठमाडौं महानगर कार्यालयमा सञ्चार प्रतिबन्ध: भ्रष्टाचारको खबरले तनाव र असन्तुष्टि थपिदियो

काठमाडौं महानगरपालिकामा भ्रष्टाचारको विषयमा नेपाल आज डटकममा समाचार प्रकाशित भएपछि कार्यालयमा सञ्चारमाथि कडाइ गरिएको छ। महानगरका कर्मचारीहरूलाई सञ्चारमाध्यमहरूसँग कुनै पनि प्रकारको जानकारी नदिन र पत्रकारहरूसँग संवाद नगर्न कडा निर्देशन जारी गरिएको छ।

नेपाल आजले सार्वजनिक गरेको समाचारले महानगर प्रमुख बालेन्द्र शाह (बालेन)का निकट व्यक्ति र सल्लाहकारहरूका बीचमा गम्भीर तनाव सिर्जना गरेको छ। समाचारमा बालेन्द्रका सल्लाहकारहरूमाथि भ्रष्टाचार, कर्मचारी व्यवस्थापनमा अव्यवस्था, टेन्डर प्रक्रिया आफ्ना नजिकका व्यक्तिहरूलाई दिनेगरी तयार पारिएको, नयाँ राजनीतिक दलको लागि भ्रष्टाचारबाट संकलन गरिएको रकम प्रयोग गर्ने, र कर्मचारीहरूको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गरी निगरानी गर्ने जस्ता आरोप लगाइएको छ।

समाचार सार्वजनिक भएपछि बालेनको समूहले तत्काल मुख्य कर्मचारीहरूको बैठक बोलाएको स्रोतहरूले बताएका छन्। सो बैठकमा, कर्मचारीहरूलाई सञ्चार माध्यमसँगको कुनै पनि संवादलाई नियमन गर्न र यसमा निगरानी गर्न आफूहरू सक्षम रहेको दाबी गरिएको थियो। स्रोतका अनुसार, महानगरका प्राविधिक टोलीले सूचना प्रविधिको प्रयोगमार्फत सञ्चार निगरानी गर्ने र डिजिटल साक्षरतामा कमजोर रहेका कर्मचारीहरूलाई धम्क्याउने प्रयास गरिरहेको छ।

महानगर कार्यालयका केही स्रोतले भनेका छन् कि समाचार सार्वजनिक भएपछि बालेन र उनको समूहले आफूहरूको तनाव बाहिर देखाउन नचाहेपनि उनीहरूभित्र असहज स्थिति सिर्जना भएको छ। यसले कार्यालयभित्रका कर्मचारीहरूमा असुरक्षा र डरको वातावरण फैलाएको छ। स्रोतका अनुसार, केही कर्मचारीहरू आफूले बोल्ने कुनै पनि कुरा निगरानीमा पर्न सक्ने डरले सञ्चारमाध्यमसँग सम्पर्क गर्न हिचकिचाइरहेका छन्।

भ्रष्टाचार र प्रशासनिक अनियमितताका यस्ता आरोपले काठमाडौं महानगरपालिकाको छवि झन् बिगार्ने संकेत देखिएको छ। बालेन्द्र शाह र उनका निकट सहयोगीहरूले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, कार्यालयभित्र बढ्दो असन्तोष र सञ्चारमाथिको प्रतिबन्धले महानगरको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

नेपाल आजले यस विषयमा थप अनुसन्धानात्मक समाचार प्रकाशन गर्ने तयारी गरिरहेको छ। महानगरका कर्मचारीहरूको स्वतन्त्रता, सूचना प्रवाहमा रोक, र प्रशासनिक अनियमितताका यस्ता गम्भीर आरोपहरूले भविष्यमा के-कस्तो परिणाम ल्याउने हो भन्ने प्रतीक्षा सबैले गरिरहेका छन्।


क्लिक गर्नुहोस् ‘महानगरपालिकामा महाभ्रष्टाचार’ र यससम्बन्धी समाचारहरू पढ्नुहोस्।

महानगरपालिकामा महाभ्रष्टाचार