नेकपा एसका उपाध्यक्ष पाण्डेले भने - प्रधानमन्त्री प्रचण्ड नैतिकहीन, सरकारबाट बाहिरिन्छौं

नेकपा एसका उपाध्यक्ष पाण्डेले भने - प्रधानमन्त्री प्रचण्ड नैतिकहीन, सरकारबाट बाहिरिन्छौं

काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाएको नयाँ समीकरणप्रति आक्रोश व्यक्त गर्दै सरकारबाट बाहिरिने बताएका छन्।

प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी असार ३१ गतेसम्म सरकारबाट बाहिरिने बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिएका छन्।

‘मैले प्रधानमन्त्रीलाई स्पष्टै भनेको छु, तपाईंले बोलेका कुराहरु पूरा गर्नुभएन भने असार ३१ गते तपाईं बिदा हुनुहुन्छ’, उपाध्यक्ष पाण्डेले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नू ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं।’

उनले प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसकिने दोहोर्‍याएका हुन्। यसअघि पनि उनले संसद्‌मा सम्बोधनका क्रममा पनि प्रधानमन्त्रीलाई विश्‍वासको मत दिए पनि नैतिकताविहीन रहेको समेत बताएका छन्। उनले भने, 'नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई समर्थन गरेको भए पनि प्रधानमन्त्रीको कमजोरी र तेस्रो पटक मत माग्‍नु नैतिकहीन काम हो।'

उपाध्यक्ष पाण्डेले एमाले र कांग्रेस मिल्‍नसक्ने र नैतिकता नै नभएको प्रधानमन्त्रीलाई बिदा गर्नुपर्नेसमेत संकेत गरेका छन्।  उनले दुई ठूला दल मिलेको अवस्थमा मुलुकमा स्थिर सरकार हुने र माओवादी अध्यक्ष प्रचण्डले जस्तो अस्थिरता र सुशासनमाथि खेलबाड नहुनेसमेत बताएका छन्।

संम्बधित खबर