समाचार

आमाको सम्मानमा वृक्षारोपण: भारतीय दूतावासको अनौठो पहल!

आमाको सम्मानमा वृक्षारोपण: भारतीय दूतावासको अनौठो पहल!

काठमाडौं, श्रावण ३१ - आमाको सम्मानमा वृक्षारोपण गरौं भन्ने सन्देशसहित भारतीय दूतावासले ‘एक पेड माँ के नाम’ अभियान सुरु गरेको छ। विश्व वातावरण दिवस २०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गरिएको यस अभियानले नेपालमा पनि व्यापक चर्चा पाएको छ।

नेपाल सरकारका वन तथा वातावरण मन्त्री श्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर अभियानलाई समर्थन जनाउनुभयो। यसै क्रममा, भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि दूतावासमा अर्को नीलो गुलमोहर रोप्दै अभियानप्रतिको प्रतिबद्धता जनाउनुभयो। 

यस अभियानमा भारतीय डायस्पोराका सदस्यहरू र भारत–नेपाल मैत्री संघले पनि उत्साहपूर्वक सहभागीता जनाएका छन्। उनीहरूले विभिन्न स्थानमा बिरुवा रोपी वातावरण संरक्षणको महत्त्वलाई आत्मसात् गरेका छन्।

भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसर पारेर, दूतावासले आफ्नो परिसरमा ७८ वटा बिरुवाहरू रोपी वातावरणीय दिगोपनप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गर्‍यो। यो कार्यक्रममा दूतावासका अधिकारी, उनीहरूका परिवार तथा बालबालिकाले सहभागिता जनाएका थिए। 

‘एक पेड माँ के नाम’ अभियानले आमाहरूको सम्मानमा वृक्षारोपणलाई मात्र प्रेरित गरेको छैन, हाम्रो वातावरणको संरक्षणका लागि सामूहिक जिम्मेवारीको आवश्यकता पनि औंल्याएको छ।