सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीको लुकेर चेकजाँच! के यो प्रभावकारी हो?

सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीको लुकेर चेकजाँच! के यो प्रभावकारी हो?

कोटेश्वरदेखि सूर्यविनायकबीचको अरनिको राजमार्गमा दैनिक यात्रा गर्नेहरूका लागि ट्राफिक प्रहरीहरूले झाडीमा छेलिएर सवारी गति मापन गर्न 'रेडार गन' तेर्स्याएको देख्नु नौलो छैन। यो सडकखण्डमा अधिकतम ५० किमि प्रति घण्टाभन्दा बढी गतिमा सवारी चलाउन रोक लगाइएको छ। ट्राफिक प्रहरीले दैनिक कैयौँ सवारी चालकलाई यसरी जरिबाना गरिरहेको छ। ट्राफिक नियम उल्लङ्घनका घटनामा गएको आर्थिक वर्षमा २४ लाख कारबाही भएको तथ्यांक छ।

भक्तपुरको गट्ठाघरमा तीव्र गतिमा सवारी चलाउने चालकलाई रोक्न बसेका ट्राफिक प्रहरीकै छेउमा ट्रकको ठक्करबाट स्कूटरचालकको मृत्यु भयो। उक्त दुर्घटनापछि आक्रोशित भिडले ट्राफिक प्रहरीको 'आइल्यान्ड' तोडफोड गरी अरनिको राजमार्ग अवरुद्ध गर्‍यो।

दुर्घटना ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा भएको समाचार सरकारी संस्थाले प्रकाशन गरेपछि ट्राफिक प्रहरीमाथि आक्रोश बढेको छ। ट्राफिक प्रहरीका प्रवक्ता विश्वराज खड्काले भने ट्राफिक प्रहरीको जाँच जिम्मेवार नरहेको स्पष्टीकरण दिएका छन्। सीसीटीभी क्यामरामा पनि स्कूटर र ट्रकलाई प्रहरीले रोकेको देखिएको छैन। यद्यपि, सामाजिक सञ्जालमा ट्राफिक प्रहरीको जाँच शैलीबारे बहस सुरु भएको छ।

सडकमा सवारी जाँच गर्ने ट्राफिक प्रहरीमाथि जरिबाना गराउन मात्र जाँच गर्ने आरोप पनि लाग्दै आएको छ। कतिपयले प्रहरीको लुकेर जाँच गर्ने शैलीलाई 'छापामार' भनेका छन् भने कतिपयले सवारीचालकहरूलाई पनि जिम्मेवार हुनुपर्ने औँल्याएका छन्।

ट्राफिक प्रहरी प्रवक्ताले भने आफ्नो जाँचका कारण दुर्घटना न्यूनीकरण भएको दाबी गरेका छन्। उनले बजेटको अभावका कारण प्रविधिमा निर्भरता कम भएको र सडकमा स्वचालित क्यामराहरू पर्याप्त नभएको उल्लेख गरेका छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीको लुकेर जाँच गर्ने शैलीको आलोचना गरिरहेका छन्।

यातायात व्यवस्थापन विज्ञहरूका अनुसार, प्रविधिको प्रयोग नगर्दा ट्राफिक प्रहरी र सवारी चालक दुवै जोखिममा छन्। पर्याप्त ट्राफिक सङ्केतहरू र प्रविधि व्यवस्थापन नभएका कारण दुर्घटना हुने संभावना बढेको छ।

ट्राफिक प्रहरीको खटाइको प्रशंसा पनि गर्नेहरू छन्। उनीहरूका अनुसार, प्रहरी चेकजाँच नगरे दुर्घटना अझै धेरै हुने थियो।

यसरी, प्रहरीको चेकजाँचलाई प्रविधिमैत्री बनाउन र सवारी चालकलाई जिम्मेवार बनाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।

संम्बधित खबर